कांग्रेसको विवादबारे गगन पक्षलाई पेसीको सूचना दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको अधिकारिकता विवादमा सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पूरक रिटबारे गगनकुमार थापा पक्षलाई पेसीको सूचना दिन आदेश दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतकी कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले थापा पक्षलाई पेसीको सूचना दिन आदेश गरेको हो । चैत २६ गते बिहीबार सभापति देउवा पक्षले दायर गरेको पूरक रिटमाथि संयुक्त इजलासमा सुनुवाई भएको थियो ।

पूरक निवेदन दर्ता भएको सूचना साथै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न थापा पक्षको पनि बहस सुन्नुपर्ने भन्दै सर्वोच्चले उक्त आदेश गरेको छ ।

यसअघि नै दर्ता भएको रिटलाई पनि साथै राखेर हेरिनुपर्ने माग देउवा पक्षको थियो । सर्वोच्चले एकतर्फी रूपमा अन्तरिम आदेश जारी नहुने भन्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

२०८२ माघ ४ गते निर्वाचन आयोगले गगन थापालाई पार्टीको अधिकारिकता दिने भनेर गरेको निर्णयविरुद्ध सभापति देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले रिट दायर गरेका छन् ।

चैत २६ गते सभापति देउवा पक्षले पूरक रिट निवेदन दायर गर्दै गगन थापा पक्षले बोलाएको नियमित महाधिवेशनको कार्यसूची रोक्न माग गरेको छ ।

Published : Friday, 2026 April 10, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया