ओली र लेखकले १३ दिनमा न्याय पाए, दुईतिहाइको सरकारलाई ठूलो झट्का
काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले रिहा गरेको छ ।
बिहीबार प्रहरीले ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले ओलीलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण ओली त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री र सुधन गुरुङले गृहमन्त्री पदको शपथ लिएको १२ घण्टाभित्र भदौ २३ को दमनको आरोपीभन्दै ओली र लेखकलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो । ओली र लेखकलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध भएको थियो । ओली र लेखक रिहा भएपछि झण्डै दुईतिहाईको सरकारलाई झट्का लागेको छ ।
प्रहरीले पक्राउ गरेपछि ओलीकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले चैत २३ गते पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो ।
प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् ।
पूर्वगृहमन्त्री लेखकलाई नेपाल प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको थियो । एसपी भट्टराईले लेखकलाई हिरासत मुक्त गरिएको बताए ।
सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको छ ।
ओली र लेखक पक्राउ परेको १३औं दिनपछि हिरासत मुक्त भएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखक कारबाही सिफारिस गरेको थियो ।
रिहा भएका पूर्वप्रधानमन्त्री ओलीको आगामी सोमबार शल्यक्रिया गर्नु पर्नेछ । ओली शल्यक्रिया हुने दिनसम्म अस्पतालमा रहनेछन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया