प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङको वरीयता तल झारिदिए, पुछारमा पुगे श्रममन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रममा हेरफेर गर्दै गृहमन्त्री सुधन गुरुङलाई ५औँ स्थानमा झारेका छन् ।

मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता पुनः निर्धारण गरेका हुन् । गृहमन्त्री गुरुङ अब ५औँ स्थानमा रहनेछन् ।

नयाँ वरीयताअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले दोस्रो स्थानमै रहेका छन् । परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयतामा राखिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठको वरीयता उल्लेखनीय रूपमा बढेर चौथो स्थानमा पुगेको छ । श्रेष्ठले गृहमन्त्री गुरुङलाई उछिनेका छन् । गृहमन्त्री गुरुङ तेस्रो वरीयताबाट पाँचौँ स्थानमा झरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनील लम्सालको वरीयता घटेर छैटौँमा पुगेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो फड्को मारेकी छिन् । गौतमले १२औँबाट सातौँ स्थानमा उक्लिएकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी पनि १५औँबाट आठौँ स्थानमा उक्लिएकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावल ११ औँबाट नवौँमा पुगेकी छिन् ।

स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री सीता मेहता एक स्थान तल झरेकी छिन् । मेहतालाई प्रधानमन्त्री शाहले १०औँ स्थानमा झारेका छन् । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल आठौँबाट ११औँमा झरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज तिमिल्सिना सातौँबाट १२औँमा झरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना पनि १०औँबाट १३औँमा पुगेका छन् ।

कृषिमन्त्री गीता चौधरीलाई १४औँ वरीयता दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह अन्तिम अर्थात् १५औँ स्थानमा परेका छन् । मन्त्री साह सबैभन्दा पुछारमा पुगेका छन् ।

सरकारले मन्त्रीहरूको जिम्मेवारी र कार्यसम्पादनलाई ध्यानमा राख्दै वरीयता हेरफेर गरिएको जनाएको छ ।

Published : Tuesday, 2026 April 7, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया