केही गुण्डाहरू पक्राउ, उच्च निगरानीमा बाँकी गुण्डाहरू, गृहमन्त्रीको पावरफुल स्टेप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कमाण्ड सम्हाल्नेवित्तिकै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न अपराध र अपराधिक गतिविधिमा संलग्न तथा निगरानीमा रहेकाहरूलाई पक्राउ गरेको छ ।

शुक्रबार र शनिबार प्रहरीले २४ घण्टाभित्र विभिन्न समूहका २९ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेसनमा काठमाडौंबाट एकै रात २९ जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये १६ जनालाई काठमाडौं परिसर र १३ जनालाई अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी पवन भट्टराईले सेवाप्रवाहका क्रममा सर्वसाधारणलाई दुःख दिने र विभिन्न अपराधमा सक्रिय समूहका व्यक्तिहरूलाई पक्राउ गरिएको बताए ।

गृहमन्त्री गुरुङले अपराधमा संलग्न र प्रहरीको नगरानीमा रहेका जो कसैलाई पनि कानूनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छन् । उनको निर्देशनपछि प्रहरी पनि सक्रिय बनेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४२ वर्षीय सञ्जीव लामा, ३७ वर्षीय राजुकुमार तामाङ, ३७ वर्षीय विनोद तामाङ, ३० वर्षीय शेर्पा तामाङ छन् । उनीहरू सबै काभ्रेका स्थानीय हुन् । खोटाङका ३८ वर्षीय पेम्बा भनिने सुरेश गुरुङ, २८ वर्षीय संगम राई र ४१ वर्षीय राहुल राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका ३५ वर्षीय सम्सन तामाङ र ३५ वर्षीय सुदनबहादुर तामाङ, सिन्धुपाल्चोकका ४३ वर्षीय अशोक गिरी, कालीकोटका ३४ वर्षीय वकिल बम, मकवानपुरका ३२ वर्षीय वीरबहादुर लामा र ललितपुरका ३० वर्षीय महेश महतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एसपी मनोहर भट्टले शुक्रबार मध्यराति १३ जनालाई पक्राउ गरेको बताए । उनीहरूविरुद्ध अनुसन्धान भइरहेको उनले बताएका छन् ।

काठमाडौं प्रहरी परिसरले शुक्रबार नै श्याम लामा, प्रवीण गुरुङ, बिर्जु महर्जन, सुनज कार्की, सरु हुमागाईंलगायत १६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूका हाइलेबलका गुण्डाहरूलाई पनि उच्च निगरानीमा राखेको जनाएको छ । उच्च निगरानीमा पर्नेहरूमा कांग्रेस निकटका गुण्डाहरू पनि रहेका छन् ।

Published : Sunday, 2026 April 5, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया