कांग्रेसलाई डिस्ट्रोय गरेका गगनले सुध्रिने संकेत देखाएनन्, जरा अभियानले पार्टी दुई फ्याक हुने
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला गगनकुमार थापा नेतृत्वको बदलिएको कांग्रेसले ‘एक महिने जरा अभियान’ सञ्चालन गर्न लागेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्ष पार्टीको आधिकारिकताको माग गरेर सर्वोच्च अदालतमा न्यायका लागि गएको छ । बदलिएको कांग्रेसले अभियान चलाउनु नै थियो भने कार्यबाहक सभापति खड्कासँग परामर्श गर्नुपर्ने थियो ।
भृकुटीमण्डप भेला गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगन थापाको अहँकार र घमण्डले गर्दा कांग्रेस निर्वाचनमा इतिहासकै कमजोर अवस्थामा पुगेको छ । तैपनि कांग्रेसलाई अझै कमजोर बनाउने गरेर गगन थापाले गतिविधि गरिरहेका छन् ।
भृकुटीमण्डपको भेला अर्थात विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई डिस्ट्रोयको अवस्थामा पुर्याएका गगन थापाले सबै पक्षसँग सम्वाद गर्नु पर्ने थियो । तर, उनले सम्वाद गरेका छैनन् । अदालतमा मुद्दा बिचाराधीन रहेका जरा अभियान ल्याएर दृश्य र अदृष्य आफ्नो विभिन्न उद्देश्य पूरा गर्न गगन थापाले खोजेका छन् ।
आफूलाई सभापति र भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएका गगन थापालाई मतदाताहरूले हराएर औकात देखाइदिएका छन् । आफ्नो हैसियत देखेका गगन थापाले कांग्रेसप्रति अझै पनि गम्भीरता देखाउन नसकेको नेताहरूले आरोप लगाएका छन् ।
भावी प्रधानमन्त्री घोषणा गरेका गगन थापा सर्लाही ४ बाट १२ हजार ८ सय ५७ मतको अन्तरबाट पराजित भएका थिए । आफू मात्रै होइन उनका कारण कांग्रेस ३८ सिटमा खुम्चिनु परेको छ । गगन थापाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई सिट कम दुईतिहाइ बहुमत ल्याएको छ ।
आफू लोकप्रिय छु भन्ने गगन थापाको घमण्ड र अहँकार चकनाचुर भएको छ । तैपनि गगन थापा सुध्रिने संकेत देखाएका छैनन् । उनले जरा अभियान अन्तर्गत आफ्ना विरोधीहरूलाई ठेगान लगाउने योजना बनाएको आरोप छ । जरा अभियानले कांग्रेसलाई जोड्न र बलियो बनाउने भन्दा पनि दुई फ्याक गराएर पार्टी नै विभाजनको अवस्थामा पुर्याउनेछ । दुबैतर्फ बस्न नचाहने नेता तथा कार्यकर्ताहरू कि निक्रिय बस्नेछन्, कि अन्य राजनीतिक दलमा प्रवेश गर्नेछन् ।
गगन थापाको जरा अभियान पनि फेल हुने पक्का रहेको नेताहरूले टिप्पणी गरेका छन् । अदालतको अन्तिम फैसला नआउँदासम्म कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरू खुलेर जरा अभियानमा सहभागी हुनेछैनन् । जरा अभियानले कांग्रेसलाई झन् दुई फ्याक बनाउन भूमिका खेल्ने पक्का रहेको नेताहरूले बताए ।
बदलिएको कांग्रेसले सबै जिल्लाहरूमा प्रतिनिधि समेत खटाएको छ । १५औं महाधिवेशनको कार्य प्रारम्भ गर्ने भन्दै बदलिएको कांग्रेसले कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई लज्जास्पद पराजय गराएका गगन थापाले कांग्रेसका सबै पक्षलाई समेटेर लैजानुपर्नेमा जरा अभियान चलाउन थालेका छन् ।
२०८३ वैशाख १ गतेदेखि एक महिने जरा अभियान संचालन गर्ने र त्यस अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवाहरुसँग र पार्टी बाहिरका शुभेच्छुकहरूसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने, सामाजिक र सिर्जनात्मक अभियान संचालन गर्ने तथा स्थानीय सरकार संचालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्नु जरा अभियानको उद्देश्य रहेको गगन थापा नेतृत्वको बदलिएको कांग्रेसले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘यसका लागि जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटिसक्नु भएको छ । त्यसैगरी जिल्लामार्फत ६,७४३ वटै वडाहरूमा प्रतिनिधिहरू खटाइनेछ र २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म एक महिनाको अवधिमा सदस्यता अद्यावधिक गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘वैशाख महिनाभित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्य आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई आफ्नो सदस्यता अद्यावधिक गर्नु पर्नेछ,’ बदलिएको कांग्रेसले भनेको छ, ‘यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यहरुले मात्र कांग्रेस आइडी प्राप्त गर्नेछन् र १५औं महाधिवेशनमा भाग लिन पाउनेछन् ।’
कार्यबाहक सभापति खड्काका साथै सिङ्गो कार्यसमितिले बदलिएको कांग्रेसको निर्णय, गतिविधिहरूलाई कुनै पनि मान्यता दिएका छैन ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया