दीपक भट्टसँग लाभ लिएकाहरूले नै संकटका बेला साथ छोडे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेसँगै विभिन्न खालको अड्कलबाजी शुरु भएका छन् ।

भट्टलाई यो मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली व्यक्तिका रुपमा प्रस्तुत गरेर समाचारहरू आइरहेका छन् । समाचारकै भरमा भट्ट पक्राउ परेका हुन् भने गम्भीर विषय हो । भट्टले अपराध गरेका छन् भने कारबाही हुनुपर्छ । होइन भने राज्यशक्तिलाई दुरुपयोग गरेर व्यवसायीलाई दुःख दिनु हुँदैन ।

भट्टको शक्ति चल्दासम्म सबैले दर्शन गरे । भट्ट कमजोर भएको महसुस हुनेवित्तिकै साथ छाडेका छन् । सबैले कुनैन कुनै माध्यमबाट भट्टलाई खेद्न शुरु गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको सरकार बन्नेवित्तिकै भट्टविरुद्ध गतिविधि शुरु भएका थिए । भट्टसँग लाभ लिएकाहरूले मुख देखाउन चाहेका छैनन् । भट्टलाई समस्या पर्दा खुलेर सहयोग गर्न कोही आएका छैनन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदका केही सदस्यहरू भट्टसँग विगतमा सम्पर्कमा थिए । जेनजी आन्दोलनका बेला भट्टसँग नाम जोडिएर केही नेताहरूको नाम आएकै थियो । अहिले भट्टसँग किन र कहाँ सम्बन्ध बिग्रियो ? प्रश्न उठेको छ ।

जिल्ला अदालत, काठमाडौंले व्यवसायी भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । भट्टलाई सीआईबीको टोलीले सम्पत्ति शुद्धीकरणको कसूरमा बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेको थियो ।

भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत, काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

भट्टले गैरकानूनी रूपमा आर्जन गरेको रकमको स्रोत लुकाउने, छल्ने, स्वरूप बदलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । पक्राउ गर्नुभन्दा अगाडि प्रहरीले भट्टको पासपोर्ट रोक्का गरेको थियो ।

भट्टमाथि लागेको आरोप प्रहरीको अनुसन्धान र न्यायालयको फैसलाबाट टुंगो लाग्ला । उनका आफन्त र कानून व्यवसायीहरूले न्यायालयबाट न्याय पाउने आशा राखेका छन् । भट्टविरुद्ध समाचारहरूमा आएका टिकाटिप्पणी सत्य हुन वा होइनन् प्रहरीको अनुसन्धानबाट खुल्नेछ ।

Published : Thursday, 2026 April 2, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया