भदौ २३ र २४ को जेनजी आन्दोलन स्वदेशी होइन, कांग्रेस र एमालेको विचित्र विवादमा शक्तिकेन्द्रको भूमिका : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वदेशी कारणले मात्रै नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा कमल कोइरालाको स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता डा.कोइरालाले भदौ २३ र २४ को आन्दोलन अर्गानिक नभएको प्रशस्त कारण रहेको बताए ।

‘अहिलेको राजनीतिमा रास्वपाको जुन उदय भएको छ, त्यो केही कारणवश छ । हामीहरूको कमीकमजोरीले पनि होला, होइन भन्दिनँ । हाम्रा कमजोरी पनि थिए । विश्वको राजनीतिक परिस्थितिलाई पनि केलाउनु पर्ने आवश्यकता छ,’ उनले भने ।

जेनजी आन्दोलनबारे पनि उनले प्रश्न उठाएका छन् । ‘हाम्रै साथीहरू भन्नुहुन्छ– यो अर्गानिक आन्दोलन थियो भनेर । आन्दोलन त हुँदै होइन त्यो, विद्रोह थियो । विद्रोह पनि हो कि होइन ? तर म यसलाई स्वीकार्ने पक्षमा छैन,’ उनले भने, ‘यो इन–अर्गानिकै हो भन्ने कुराका प्रशस्त इभिडेन्सहरू छन् ।’

कांग्रेस र एमालेबाट गल्ती–कमजोरी नभएको पनि आफू नभन्ने डा.कोइरालाले बताए । ‘धेरै ठूला गल्ती भएका छन्,’ उनले भने ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता डा.कोइरालाले कांग्रेस र एमालेभित्र अर्कै प्रकारको विवाद रहेको पनि बताएका छन् । ‘अहिले अरूका कुरा हेर्नुपर्ने हाम्रा साथीहरू आफ्नै पार्टीका नेताविरुद्ध लागिरहेका छन् । त्यो कांग्रेसभित्र पनि छ, एमालेभित्र पनि देखिन्छ,’ डा.कोइरालाले भने । उनले कांग्रेस र एमाले विचित्रको विवादमा रहेको बताए । डा.कोइरालाले त्यो विवादमा शक्तिकेन्द्रको भूमिका रहेको आशंका व्यक्त गरेका छन् ।

‘अहिले कांग्रेस र एमाले दुइटै पार्टीभित्र अहिले अचम्मको समस्या छ,’ डा.कोइरालाले भने, ‘हामी दुइटै पार्टी बडो विचित्रको विवादमा परिराख्या छौं । दुइटै पार्टीमा विवाद छ, स्वीकार्नुपर्छ ।’

पार्टीलाई मिलाएर अगाडि लैजान नसके अवस्था निकै खराब हुने उनले बताएका छन् । ‘हामीहरूले सोच्नुपर्नेछ अब । एकढिक्का बनाएर जानसके हाम्रो अस्तित्व रहन्छ, होइन भने अप्ठेरो स्थितिमा हामी जान्छौं । यसमा कुनै द्विविधा छैन,’ डा.कोइरालाले भने ।

कांग्रेसको विवाद मिलाउने प्रयासमा रहेको उनले बताएका छन् । आफूले कांग्रेस विवादमा मध्यमार्गी धारणा राख्दा निकै कठिनाइ भइरहेको पनि उनले बताएका छन् । ‘कुनैपनि व्यक्ति जो मध्यमार्गी हुन्छ, उसलाई काम गर्न कठिन नै हुन्छ । अप्ठेरो हुन्छ,’ उनले भने ।

अहिलेको परिस्थिति कांग्रेस एमालेका लागि मात्रै कठिन नभई सबै पुराना दलका लागि असहज रहेको उनले बताए । उनले भने, ‘अहिले राजनीतिक परिस्थिति वा देशको परिस्थिति नेपाली कांग्रेस, एमाले, माओवादी या अन्य पार्टीलाई अहिले प्रतिकूल छभन्ने कुरा हामीले बुझौं ।’

Published : Thursday, 2026 April 2, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया