हामी जहाँ छौं, त्यही असली कांग्रेस हो, भृकुटीमण्डप भेलालाई मानेका छैनौँ : विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले कुटीमण्डप भेलाको विशेष महाधिवेशन अवैध भएको बताउँदै त्यसलाई आफूहरूले नमानेको बताएका छन् ।
बुधबार काठमाडौंको धुम्बाराहीमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता निधिले आफूहरू वैध कांग्रेस भएकाले निर्वाचन आयोगको निर्णय नमानेर अदालत पुगेको बताए ।
उनले कार्यवाहक सभापति नै भनेर खड्काको अध्यक्षतामा हिजो र आज दुई दिन केन्द्रीय समिति बैठक बसेको बताएका छन् ।
‘२२ गते सर्वोच्च अदालतमा पेसी छ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दियो, त्यो अवैध हो, गैरकानूनी हो र राजनीतिक रूपमा उपयुक्त होइन भनेर हामी सर्वोच्च अदालतमा मुद्दा दिएका छौँ,’ निधिले भने, ‘विशेष महाधिवेशनलाई हामीले मानेका छैनौँ, हामी सहभागी पनि भएनौँ ।’
बैठकमा मुद्दाको सम्पूर्ण तयारीका लागि पनि अगाडि बढ्नुपर्छ भनेर छलफल गरेको उनले बताए । ‘कानूनी सल्लाहकार, अधिवक्ता बहस गर्न तयार हुनुहुन्छ, हामी त्यसका लागि पनि छलफल गरेका छौं,’ नेता निधिले भने ।
उनले आफूहरू जहाँ उभिएको छ, त्यही वैध कांग्रेस रहेको बताएका छन् । ‘हामी नै असली कांग्रेस हौं, हामी जहाँ छौं, त्यही असली कांग्रेस हो । हामी जहाँ छौं, त्यही वैध कांग्रेस हो । यही निष्कर्ष निकालेका छौं,’ निधिले भने ।
बैठकमा निर्वाचनबारे पनि छलफल भएको उनले बताए । उनले भने, ‘जुन परिस्थितिमा निर्वाचन भयो, परिणाम अकल्पनीय आयो । निर्वाचन पनि आकस्मिक भयो, २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ भयो ।’ संविधानको रक्षाका लागि निर्वाचनमा भाग लिएको नेता निधिले बताए । त्यसको बारेमा पनि समीक्षा गरेको उनले बताए ।
देशको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उनले बताए । ‘यसमा नेपाली कांग्रेसले पहिलेभन्दा पनि सशक्त रूपमा लोकतान्त्रिक प्रणालीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘त्यसका लागि वृहत एकताको जरुरत छ । त्यसैलाई हामीले मिसन बनाएर जान्छौं । देशभरका साथीसँग संवादमा रहन्छौं ।’ पार्टी एकताका लागि विशेष महाधिवेशन पक्षधर पनि तयार रहनुपर्ने उनले बताए ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया