गगनले कांग्रेस हाइज्याक गरेर तहसनहस बनाएका बेला महामन्त्री शाह पार्टीको कार्यक्रमहरूमा सहभागी नहुने
धनगढी । नेपाली कांग्रेसका नेता एवन् सुदूरपश्चिम कांग्रेसका महामन्त्री नरनारायण शाह ‘मनु’ले पार्टीका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने जनाएका छन् ।
बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर नेता शाहले कांग्रेसमा देखिएको पछिल्लो किचलोप्रति असन्तुष्टि जनाएका छन् । उनले कांग्रेसको औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने जनाएका छन् ।
भृकुटीमण्डप भेलाबाट गगनकुमार थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेर तहसनहस बनाएको भन्दै देशभरिका नेता, कार्यकर्ताहरू निराश भइरहेका बेला सुदूरपश्चिम र कैलालीका लोकप्रिय नेता शाहले पनि कांग्रेसप्रतिको माया, मोह भंग भएको संकेत गरेका छन् ।
महामन्त्री शाहले लेखेका छन्, ‘यो संवेदनशील जटिलतम चुनौतीपूर्ण परिस्थितिमा सिङ्गो नेपाली कांग्रेस एकजुटताका साथ एकमुष्ट भएर नउभिदाँसम्म मैले नितान्त भारी मनले विचार गरे कि अब उपरान्त म पार्टीको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा स्वयम्ले सहभागिता नजनाउने निर्णय लिन अहिले विवश भएको छु ।’
महामन्त्री शाहले आगामी दिनहरूमा आफू सम्भवतः दलगत राजनीतिभन्दा टाढा नै रहने पनि संकेत गरेका छन् । ‘यदि, दुर्भाग्यवश पार्टी यसैबीच विभाजनतर्फ जान्छ भने त म जस्ता तमाम राष्ट्रियता लोकतन्त्र र समाजवादप्रति आस्थावान एवं चारतारे झण्डामुनि अन्धविश्वासी भइ लागेका साथीहरूको संगठनप्रतिको निष्ठा मर्म एवं भावनामाथि निर्मम तरिकाले ठूलो आघात पुग्ने निश्चित छ,’ उनले भने ।
शाह यसअघि कांग्रेस कैलालीको दुई कार्यकाल सभापतिको भूमिकामा थिए । उनका बुवा स्व. मोहनबहादुर शाह (पूर्वजिविस सभापति)ले पनि कैलाली कांग्रेसको नेतृत्व गरेका थिए ।
महामन्त्री शाहका हजुरबुवा स्व. लोकेन्द्रबहादुर शाह पनि कैलाली कांग्रेसका सभापति थिए । उनी २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनका सांसद पनि हुन् ।
लोकेन्द्रबहादुर तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६५ कैलाली–कञ्चनपुरबाट कांग्रेसका तर्फबाट छ हजार ५४४ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका धनबहादुर महतोले एक हजार ५४५ मत पाएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया