प्रधानमन्त्री बालेनलाई तिब्बती निर्वासित सरकारका प्रमुख नेता छेरिङले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई तिब्बती निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले बधाई तथा शुभकामना दिएका छन् ।

सिक्योङले बधाई सन्देशमा लेखेका छन्, ‘हालै सम्पन्न जेनजी नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा तपाईंको उदय हुनु नेपालका जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकका रूपमा उभिएको छ ।’

सिक्योङ पेन्पा छेरिङ चीनमा प्रतिवन्धित भएर हाल भारतको धर्मशालामा छन् । उनी लामो समय तिब्बती सांसद थिए । सभामुखको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए ।

निर्वाचित तिब्बती सरकारले नेपालको नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिएको सम्भवतः पहिलो पटक हो । यसअघि दलाइ लामाले अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ सन्देश पठाएका थिए ।

पत्रमा भनिएको छ, ‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि कायम रहेका गहिरा ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छन् । तिब्बतको जबरजस्ती अधिग्रहणपछि शरण लिएर नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन्, जसले यी सम्बन्धहरूलाई अझ मजबुत बनाएको छ ।’

‘यो सबै नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको हो, जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ,’ बधाई सन्देश पत्रमा भनिएको छ ।

‘कृपया मेरो हार्दिक बधाई तथा शुभकामना स्वीकार गर्नुहोस्,’ उनले भनेका छन्, ‘नेपालको इतिहासको यस महत्वपूर्ण घडीमा तपाईंको नेतृत्वमा सफलता हासिल होस् भन्ने कामना गर्दछु । तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मित्रता अझ सुदृढ हुँदै जानेछ भन्ने अपेक्षा राख्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने आशा व्यक्त गर्दछौँ ।’

Published : Sunday, 2026 March 29, 2:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया