ओली र लेखकलाई पक्राउ गर्नु प्रतिशोध, कानूनी र राजनीतिक प्रतिबाद गर्छौं : कांग्रेस कार्यबाहक सभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोध साध्ने गरी पक्राउ गरिएको भन्दै भर्त्सना गरेको छ ।
शनिबार कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘आज बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ । त्यसको लगत्तै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसैगरी पक्राउ गरी दुबै जना नेताहरूलाई अबैध हिरासतमा राखेको छ ।’
‘संविधान र प्रचलित कानून बिपरित गरिएको यस कार्यको हामी भर्त्सना गर्दछौं,’ कार्यबाहक सभापति खड्काले भने, ‘उहाँहरूको तत्काल रिहाईको जोडदार माग गर्दछौं ।’
विज्ञप्तिमा भनिएको छ, ‘सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा गरिएको भन्ने यो बदनियतपूर्ण कार्यले गम्भीर संबैधानिक र कानूनी प्रश्न उब्जाएको छ ।’
‘आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं ७२१ को सिफारिस बमोजिम अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रकया पूरा नगरिकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानूनी राज्यको बर्खिलाप छ, राजनीतिकरूपमा पूर्वाग्रह प्रेरित छ,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
‘आयोगको कार्यादेश बमोजिम भाद्र २३ र २४ गते दुबै दिनको घटनाको छानविन गर्नु पर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमाथि भएको नोक्सानी र संलग्न व्यक्तिहरूबारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपातपूर्ण भएको प्रष्ट छ,’ कार्यबाहक सभापति खड्काले भने ।
‘सरकार गठन भए लगत्तै दुरासयपूर्ण तबरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ कार्यबाहक सभापति खड्काले भनेका छन् ।
‘यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिबाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपील गर्दछ ।’

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया