प्रधानमन्त्री बालेनद्वारा पदधार ग्रहण, आयोगबारे बोल्ड निर्णय, बालुवाटार प्रवेश

काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिएसँगै बालेन्द्र शाह (बालेन)ले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा शपथ लिएपछि शाहले सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् । उनले मुख्य सचिव र सचिवहरूलाई समेत निर्देशन दिएका छन् ।

पदभारग्रहण लगत्तै मन्त्रिपरिषदको बैठक पनि बसेको छ । मन्त्रिपरिषदको पहिलो बैठकले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जलि व्यक्त गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।

सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने निर्णय मन्त्रिपषिदले गरेको शिक्षामन्त्री एवम् प्रवक्ता पोखरेलले बताए । कार्यसूची भोलि शनिबारसम्म प्रकाशित गर्ने तयारी छ ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न निर्णय भएको छ ।

‘पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने । दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

सिंहदरबारबाट प्रधानमन्त्री शाह बालुवाटारस्थित सरकारी निवास पुगेका छन् । उनले सरकारी निवासमा पूजापाठ गरेर भित्रिएका छन् ।

Published : Friday, 2026 March 27, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया