सुरक्षाकर्मी, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउन खोजिनु कानून विपरीत : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले आफूहरू प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा चुनाव हुने हो भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताए ।

ओलीले आफूहरू चुनाव विरोधी नरहे बताए । मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने उनले बताए ।

‘अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो,’ ओलीले भने, ‘हामीले वातावरण बिगारेका छैनौँ । वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ ।’

‘हामीले मान्छे काट्छौँ, मार्छौ भनेका छैनौँ । त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ,’ एमालेका अध्यक्ष ओलीले भने, ‘कहिले जेनजीका नाममा मान्छे उचालेर हमलाको प्रयास गरिएको छ । देशलाई पछाडि फर्काउने पक्षहरूबाट सचेत भएर युवाहरू लाग्नुपर्छ ।’

उनले भने, ‘राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरू हाम्रो काँधमा रहेका छन् । युवाहरू गलत सङ्गत सोंच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न ।’

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरू चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने ओलीले बताए ।

उनले प्रतिनिधिसभाको पुनःस्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनु पर्ने बताएका छन् ।

गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानून सम्मत नभएको तत्कालीन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले बताएका छन् ।

उनले भने, ‘स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानून विपरीत छ ।’

Published : Thursday, 2025 December 25, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया