कांग्रेसको महाधिवेशन केही दिन तलमाथि हुन्छ : नेता डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान परिस्थितिका कारण नेपाली कांग्रेसको महाधिवेशन केही दिन तलमाथि हुन सक्ने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित कांग्रेसको कार्यक्रममा सम्बोधन गर्दै डा.कोइरालाले पार्टीको नियमित महाधिवेशन समयमै हुनुपर्ने बताए । त्यसका लागि सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने र विशेष गरी क्रियाशील सदस्यताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताएका छन् ।

नेता डा.कोइरालाले पार्टीलाई बलियो बनाउन संगठनात्मक आधार मजबुत हुन आवश्यक रहेको बताएका छन् ।

वडास्तरीय अधिवेशनको सन्दर्भमा पनि नेता डा.कोइरालाले कार्यकर्ता तथा नेताहरूलाई संयमता अपनाउन र परिपक्वता देखाउन सुझाव दिएका छन् ।

नेता डा.कोइरालाले वडाको अधिवेशनलाई सकेसम्म सहमतिमा सम्पन्न गर्न प्रयास गर्न आग्रह गर्दै यदि सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताए ।

प्रतिस्पर्धामा हारजितलाई लिएर एकअर्कामाथि आरोप लगाउने, असन्तुष्ट गतिविधि गर्ने वा पार्टीलाई कमजोर बनाउने कार्य स्वीकार्य नहुने उनले बताएका छन् ।

स्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक पार्टीको सुन्दर पक्ष भएको भन्दै नेता डा.कोइरालाले त्यसलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

महामन्त्री गगन थापा नेतृत्वका क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम गर्न सकेको छैन । थापा नेतृत्वको समितिका कारण महाधिवेशन प्रभावित बनेको छ । थापाले विशेष महाधिवेशनका लागि कीर्ते हस्ताक्षर अभियान चलाएका थिए ।

Published : Saturday, 2025 December 20, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया