गगनको नियतमाथि प्रश्न उठेका बेला डा.कोइरालाको ठूलो आशंका

विराटनगर । महामन्त्री गगन थापाको नियतमाथि आशंका गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरणमा गम्भीर त्रुटि देखिएको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा.कोइरालाले सिरियल नम्बर नै नभएका सदस्यता फारम वितरण गरिएकाले तोकिएको मितिमै महाधिवेशन हुन कठिन हुनसक्ने बताए । उनले मोरङ लगायतका जिल्लामा आधिकारिक सिरियल नम्बर नभएका क्रियाशील सदस्यता फारम भरिएको गुनासो आएको बताएका छन् ।

महामन्त्री थापा क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक छन् । विशेष महाधिवेशनको माग गर्दै आएका थापाले कांग्रेस कब्जा गर्ने उद्देश्यले विभिन्न कीर्ते गतिविधि गर्दै आएका बेला नेता डा.कोइरालाले विरोध जनाएका छन् ।

नेता डा.कोइरालाले भने, ‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेका छौं । ती सदस्यता क्यान्सिल भएका छन् ।’

‘अब नयाँ सिरियल नम्बरसहितका फारम गाउँगाउँ (डोल्पा, बाजुरा, बझाङ जस्ता ठाउँ)सम्म पुर्‍याएर भराउँदा समय लाग्ने हुँदा महाधिवेशनको कार्यतालिका केही प्रभावित हुन सक्छ,’ नेता डा.कोइरालाले भने ।

पार्टीको महाधिवेशन समयमै होस् भन्ने चाहना हुँदाहुँदै पनि प्राविधिक त्रुटि सच्याउन समय लाग्ने नेता डा.कोइरालाले बताएका छन् ।

‘अहिले नै मिति सर्छ भनेर नसोचौं । तर, प्रक्रियागत ढिलाइले असर गर्न सक्छ,’ नेता डा.कोइरालाले भनेका छन् । उनले फागुन २१ गतेमा चुनावमा जान कांग्रेस तयार रहेको बताए ।

तोकिएको मितिमा चुनाव हुन नसके संसद् पुनःस्थापनाको माग स्वतः अगाडि बढ्ने उनको भनाइ छ । ‘संविधान डिरेल भएको छ, अहिले बनेको सरकार संविधानसम्मत होइन,’ डा.कोइरालाले भने, ‘यदि चुनाव हुँदैन भने संसद पुनःस्थापना भएर देश अगाडि बढ्नुपर्छ । कांग्रेसको बटमलाइन फागुन २१ मा चुनाव हुनैपर्छ भन्ने हो ।’

पार्टीका सांसदहरूले व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर संसद् पुनःस्थापनाको पक्षमा सडकमा जानुलाई अन्यथा लिन नहुने डा.कोइरालाले भने । उनले कांग्रेस उदार लोकतान्त्रिक पार्टी भएकाले विचार राख्ने स्वतन्त्रता सबैलाई भएको बताएका छन् ।

१५औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिको उम्मेदवार को बन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा.कोइरालाले यस विषयमा धेरै चिन्ता नलिन आग्रह गरेका छन् ।

‘हाम्रै पार्टीका साथीहरू र प्रेसका साथीहरूलाई किन यति धेरै चिन्ता लागेको हो ?,’ डा.कोइरालाले भने, ‘हामी घुम्दै छौं, सल्लाह गर्दै छौं । समय आएपछि उम्मेदवारी घोषणा गर्छौँं । अहिले नै को उठ्छ भनेर चिन्ता गरिहाल्नु पर्दैन ।’

कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

Published : Wednesday, 2025 December 17, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया