पशुपतिमा मान्छे जलाउने मेसिन खरिदमा १० करोड ३४ लाख भ्रष्टाचार, विशेष अदालबाट आदेश
काठमाडौं विशेष अदालते पशुपति आर्यघाटमा विद्युतीय शवदाह मेसिन खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा आदेश जारी गरेको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य हेमन्त रावलको इजलासले डा.मिलनकुमार थापा समेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा थप प्रमाण बुझ्ने र मेसिनको प्राविधिक परीक्षण गराउने सहितको ५ बुँदे आदेश दिएको हो ।
अदालतले पशुपति क्षेत्र विकास कोषबाट २०८० असार ५ गते गोरखापत्रमा प्रकाशित बोलपत्रको सूचना म्यादभित्रै शर्तहरू संशोधन गर्ने गरी कोषका कार्यकारी निर्देशकबाट सोही वर्षको असार ३१ मा भएको निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ ।
मेसिन खरिद प्रक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भएका फरक–फरक निर्णयहरू समेत अदालतले माग गरेको छ ।
खरिद सम्बन्धी सम्पूर्ण कार्य स्थगन गर्नू भनी तत्कालीन राज्यमन्त्रीस्तरबाट भएको निर्णय र सो प्रक्रिया नरोकी निरन्तरता दिनू भनी मन्त्रीस्तरबाटै भएको अर्को निर्णयको प्रमाणित प्रतिलिपि मन्त्रालयबाट झिकाउन अदालतले आदेश दिएको छ ।
म्याप इन्टरप्रेनर्स प्रा.लि.सँग ४ वटा शवदाह मेसिन आपूर्तिका लागि सम्झौता भएकोमा २ वटा मात्र जडान भएको र बाँकी २ वटा आपूर्ति हुन बाँकी रहेको देखिएकोले अदालतले सोबारे पनि जवाफ मागेको छ ।
बाँकी २ मेसिनको आपूर्ति प्रक्रिया कुन तहमा पुगेको छ र सम्झौता रकम १० करोड ३३ लाख ९१ हजार ३० रुपियाँ ३१ पैसामध्ये हालसम्म आपूर्तिकर्तालाई कति रकम भुक्तानी भयो भन्ने मिति र रकमसहितको विवरण पशुपति क्षेत्र विकास कोषबाट माग गरिएको छ ।
जडान भइसकेका २ थान मेसिनको अवस्था जाँच गर्न अदालतले नेपाल इन्जिनियरिङ परिषदबाट ३ जना स्वतन्त्र विज्ञहरूको टोली खटाउन आदेश दिएको छ ।
यसअघि खरिद प्रक्रियामा संलग्न नभएका विज्ञहरूले मेसिन हाल चालू अवस्थामा रहे÷नरहेको, मर्मत सम्भार गर्नुपरे÷नपरेको र जडान गर्दाको अवस्था र हालको अवस्थामा केही फरक भए÷नभएको निरीक्षण गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।
प्रतिवेदन प्राप्त भएपछि विज्ञहरूलाई अदालतमा उपस्थित गराई बकपत्र गराउने आदेशमा उल्लेख छ । अदालतले मुद्दा पुरानो भइसकेको भन्दै तोकिएको कार्यहरू यथाशीघ्र सम्पन्न गरी मुद्दा पेश गर्न आदेश समेत दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा.मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पशुपति परिसरमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना गरेको, हानि–नोक्सानी पु¥याएको र भ्रष्टाचारमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपियाँ बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया