जेनजी आन्दोलन जाँचबुझ आयोगका निर्णयले निर्वाचनको वातावरण बिथोल्यो : कांग्रेस

भक्तपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताए ।

‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचन बनाउने, भयरहित बनाउने कदमतर्फ अगाडि बढेका छन् ?,’ खड्काले प्रश्न गर्दै भने, ‘यसतर्फ हामी गम्भीर छौं, सरकार यसमा गम्भीर हुनुपर्छ ।’

कांग्रेसका कार्यबाहक सभापति खड्काले जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगका निर्णयले पनि निर्वाचनको वातावरण बन्न नसकेको बताए ।

उनले भने, ‘नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यले प्रश्न उठाएका छन् । आयोग सतर्क हुन जरुरी छ ।’

खड्काले जेनजी आन्दोनलमा क्रममा भएका घटना अकल्पनीय भएको बताए । त्यसका पछाडि रहेका अनुहार खुल्दै गएको र भविष्यमा खुल्दै जाने उनले बताएका छन् ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गरेका निर्णयहरूको आलोचना भइरहेका बेला कांग्रेसका कार्यबाहक सभापति खड्काले पनि सार्वजनिक रुपमा विरोध गरेका छन् ।

अहिलेको अवस्थामा सबै राजनीतिक दल एकजुट भएर लोकतन्त्रलाई जोगाउनुपर्ने उनले बताएका छन् । विगतमा पनि लोकतन्त्रका लागि सबै राजनीतिक दल एकताबद्ध भएको कार्यबाहक सभापति खड्काले बताए ।

Published : Saturday, 2025 December 13, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया