कांग्रेसका संस्थापन निकटका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भव्य भेला

लमही । लुम्बिनी प्रदेशस्तरीय नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूको भेला भएको छ ।

शुक्रबार दाङको देउखुरीस्थित लमहीमा कांग्रेसका संस्थापन पक्षका नेताहरूको लुम्बिनीस्तरीय भेला भएको हो । भेलामा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणसहितका नेताहरूको उपस्थिति रहेको छ ।

भेलाका सहभागीहरूले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि भएको सांघातिक आक्रमणको निन्दा र भर्त्सना गरेका छन् । उनीहरूले १५औँ महाधिवेशनमा नेतृत्वमा जो आए पनि अहिले गालीगलौज र असंहिष्णुताको राजनीति नगर्न आग्रह गरेका छन् । उनीहरूले सभापति देउवाले देखाएको समावेशिताको सिद्धान्तलाई सबैलाई ध्यान दिनुपर्ने बताएका छन् ।

भेलामा नेता खाणका साथै सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, चन्द्र केसी, लुम्बिनी प्रदेश सभा कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, पूर्व केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, लुम्बिनी कांग्रेसका उपसभापति राजु खनाल, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा, अर्थमन्त्री धनेन्द्र कार्की, वनमन्त्री देवकरण कलवार ‘सन्तु’ लगायतको उपस्थिति रहेको छ ।

भेलामा जिल्ला सभापति, क्षेत्रीय सभापति तथा विभिन्न पदमा रहेका जनप्रतिनिधिहरूको समेत ठूलो संख्यामा उपस्थिति रहेको छ ।

Published : Friday, 2025 December 12, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया