चटकेहरूले चटक देखाएकै भरमा मुलुक बन्दैन, नेतृत्वलाई गाली गरेर समस्याको समाधान हुँदैन : कांग्रेस नेता खतिवडा
गामनाङटार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले राजनीतिक नेतृत्वलाई मात्रै गाली गरेर समस्याको समाधान नहुने बताएका छन् ।
बुधबार ओखलढुङ्गाको लिखु गाउँपालिकाको गामनाङटारमा आयोजित ७औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले चटकेहरूले चटक देखाएकै भरमा मुलुक बन्न नसक्ने बताए । उनले मुलुक बनाउन गम्भीर बन्न सुझाव दिएका छन् ।
निवर्तमान सांसद समेत रहेका कांग्रेस नेता खतिवडाले भने, ‘राजनीतिक दल मात्रै दोषी छन् भन्ने भाष्य सिर्जना भएको छ त्यसको अन्त्य गर्न आवश्यक छ ।’
‘चटकेहरूले चटक देखाएर मुलुक बन्दैन । काम गरेर मुलुक बनाउनुपर्छ,’ उनले भने, ‘गाली गरेर मुलुक बन्दैन । अहिलेको राजनीति भड्काउको राजनीति होइन । स्थिरताको राजनीति, संयमताको राजनीति, धैर्यताको राजनीतिमा हामी केन्द्रित हुनुपर्छ ।’
कांग्रेस नेता खतिवडाले २०७० सालपछि ओखलढुङ्गा जिल्लामा धेरै विकास भएको बताए । उनले बिजुली, सडक, खानेपानी, मोबाइल, पुल निर्माण लगायतका काम भएको बताए ।
उनले भने, ‘समग्र ओखलढुङ्गाको विकास हुँदा खुसी नहुने कोही छैनन् । अभिभावकको रुपमा सबै वडाका साथीहरूले मलाई घचघचाउनु भएको छ । कतिलाई मैले चित्त बुझाउन सकेको छैन होला । कति साथीहरू खुसी हुनुभएको छैन होला । बाटो बनेको छ, पुल बनेका छन् । जनतालाई आवतजावतमा सहजता भएको छ । २०७० पछि हामीले काम गरेका छौँ ।’
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्की, उपाध्यक्ष अस्मिता थापा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा खेलाडी र स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया