१४ करोड भ्रष्टाचारमा प्रदीप हिरासतमा बसेका बेला सिनियरलाई लात हानेर जुनियरलाई प्राधिकरणको जिम्मेवारी
काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहसचिव मुकेश डंगोललाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि खैलाबैला भएको छ ।
प्राधिकरणमा वरिष्ठ उच्च अधिकृतहरू हुँदाहुँदै जेनजी सरकारले कनिष्ठ सहसचिव डंगोललाई प्राधिकरणको महानिर्देशक बनाएपछि प्रश्न उठेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नलिञ्चोक हेलिपोर्टको झण्डै १४ करोड भ्रष्टाचार काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् ।
संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदनमा दिइएको सुझावविपरीत प्राधिकरणको महानिर्देशकको जिम्मेवारी मन्त्रालयका सहसचिव डंगोललाई दिएपछि विवाद भएको छ ।
विगतमा नागरिक उड्डयन क्षेत्रमा सुधारका लागि समस्या पहिचान गरी सुझाव दिन पूर्वन्यायाधीश अनिलकुमार सिन्हा गठन गरिएको उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले प्रतिवेदन तयार पारी बुझाएको थियो । सिन्हा वर्तमान सरकामा कानून, न्याय तथा संसदीय, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारणमन्त्री छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफू मातहत राखेकी छिन् ।
सिन्हा नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा प्राधिकरणको नेतृत्व प्राधिकरणकै कर्मचारीमध्येबाट गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिवेदनको सुझाविपरीत मन्त्रालयका सहसचिव डंगोललाई प्राधकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि कर्मचारीहरू रिसाएका छन् ।
पर्यटन मन्त्रालयले शुक्रबार प्रशासनतर्फका सहसचिव डंगोललाई महानिर्देशकको अतिरिक्त जिम्मेवारी दिएको छ । डंगोल प्राविधिकतर्फका कर्मचारी भए पनि अहिले उनी मन्त्रालयमा प्रशासनतर्फ छन् ।
प्राधिकरणमा १२औं तहमा प्रतावबाबु तिवारी कार्यरत छन् । वरीयताक्रम र प्रतिवेदनको सुझावलाई आधार मान्ने हो भने तिवारीले महानिर्देशकका जिम्मेवारी पाउनुपर्ने हो ।
वरीयताक्रममा तिवारीपछि प्रेमनाथ ठाकुर, देवचन्द्र कर्ण, हंसराज पाण्डे र जगन्नाथ निरौला छन् । यी पाँचैजना मन्त्रालयका सहसचिव डंगोलभन्दा वरिष्ठ पनि हुन् । क्यानमा १२औं तहका पाँचजना कर्मचारी हुँदाहुँदै मन्त्रालयले कनिष्ठलाई महानिर्देशकको जिम्मेवारी तोकेर अन्योल सिर्जना गरिदिएको यस क्षेत्रका जानकारले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया