कांग्रेस नेता यादव मुख्यमन्त्री नियुक्त

जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

शुक्रबार यादवले ६ दलको बहुमतको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस नेता यादव मधेश प्रदेश सरकारको छैटौँ मुख्यमन्त्री बनेका छन् ।

यादव कांग्रेसबाट मधेशको पहिलो मुख्यमन्त्री पनि बनको छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

हाल मधेश प्रदेश सभामा १०४ जना प्रदेशसभा सदस्य कायम छन् । जसमध्ये ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले दाबी पेस गरेका थिए ।

कांग्रेस नेता यादव नेतृत्वको सरकारलाई यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् ।

गएको बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आहृवान गरेका थिए । सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवले सबै दलबाट एक–एकजना मन्त्री पनि आफूसँगै शपथ ग्रहण गर्ने बताएका छन् । बाँकी मन्त्रीको टुंगो विश्वासको मत लिएपछि हुने यादवले बताए ।

मधेशमा यसअघि लालबाबु राउत, सरोजकुमार यादव (बारा), सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल, सरोजकुमार यादव (महोत्तरी)ले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

Published : Friday, 2025 December 5, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया