गाउँमा वडा कार्यालय बन्नु गणतन्त्रको प्रत्यक्ष उपलब्धि, सरकार र जनताबीचको पहुँच : मुख्यमन्त्री बानियाँ
थाहा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले गाउँगाउँमा वडा कार्यालय बन्नु गणतन्त्रको प्रत्यक्ष उपलब्धि रहेको बताउँदै यसले जनताको पहुँचमा स्थानीय सरकारलाई पु¥याएको बताएका छन् ।
मंगलबार मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले वडा कार्यालयलाई आम जनताको घरको रूपमा परिभाषित गरेका छन् । उनले वडा कार्यालयको भवन जति सुन्दर र मजबुत बन्दै गएको छ, त्यसैगरी अब आम नागरिकको घर पनि राम्रो बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सह–लगानी र सहकार्यका कार्यक्रम अघि बढाउन आफूहरू तयार रहेको बताए ।
थाहा नगरपालिकाको क्षमता र सम्भावनालाई विशेष रूपमा उल्लेख गर्दै बानियाँले कृषि र पर्यटनलाई प्राथमिकता दिएर प्रदेश सरकारले अगाडि बढ्ने बताएका छन् । उनले भने, ‘इन्द्रसरोबरको कुलेखानी क्षेत्र र थाहा नगरलाई जोडेर बागमती प्रदेशकै पर्यटनको ठूलो योजना ल्याउँदैछौँ ।’ मुख्यमन्त्री बानियाँले प्रदेशकै पर्यटन विस्तारमा थाहा नगर महत्वपूर्ण केन्द्र बन्ने बताएका छन् ।
गणतन्त्र र संघीयताबारे विभिन्न भ्रम फैलाइएको मुख्यमन्त्री बानियाँले बताएका छन् । उनले भने, ‘व्यवस्थामाथि भ्रामक प्रचार भइरहे पनि केही कमजोरीहरू हाम्रो पनि छन् । यो व्यवस्थाले राम्रो नलागे नेता नै बदल्न सकिने सर्वश्रेष्ठ अधिकार जनतामा दिएको छ । जनताको शक्तिनै गणतन्त्रको मूल सार हो ।’
बागमती प्रदेश सभासदस्य कुमारी मोक्तानले भवनले पूर्णता पाएसँगै सेवाग्राहीले बढी सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बिष्टले जनप्रतिनिधिहरूको अथक खटाइका कारण काम समयमै सम्पन्न भएको बताए ।
मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, वडा नं. ८ का वडाध्यक्ष हेमकुमार थिङ, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरी, वाईसीएलका अध्यक्ष मुक्ति लामा लगायतका अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया