मर्न तयार हुनु भयो, कुटाइ खाएर घाइते हुँदा पनि सभापति देउवाले कांग्रेस टुक्रिन दिनु भएन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफू भदौ २४ को सांघातिक आक्रमणबाट गम्भीर घाइते हुने पनि सभापति शेरबहादुर देउवाले देखाएको सहासका कारण पार्टी टुक्रनबाट जोगिएको बताएका छन् ।

सोमबार पार्टी कार्यालय, सानेपामा बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता खतिवडाले भने, ‘सभापति शेरबहादुर देउवाले सहास देखाउनुभयो । मलाई केही चाहिएको छैन । पार्टी नटुक्रियोस् । पार्टी बलियो भएर जाओस् भन्नुभयो ।’

नेता खतिवडाले भने, ‘सबैलाई एक ठाउँमा ल्याएर जुन प्रयास गर्नुभयो म सभापतिजीलाई धन्यवाद दिन्छु ।’

विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनभन्दा अगाडि विशेष महाधिवेशन गर्ने भनेर अडान छाडेका थिएनन् । सभापति देउवाले नियमित महाधिवेशनमा जान सबै नेताहरूलाई सहमति गराएका थिए । त्यसपछि विशेष महाधिवेशन हुन सकेन । महामन्त्रीद्वय थापा र शर्माले यदि विशेष महाधिवेशन गरेको भए कांग्रेस विभाजन हुने पक्का थियो ।

महामन्त्रीद्वय थापा र शर्माले व्यक्तिगत स्वार्थका लागि कांग्रेस टुक्राउन विशेष महाधिवेशन भनेर हस्ताक्षर अभियान चलाएका थिए । उनीहरू गम्भीर घाइते सभापति देउवा र नेतृ डा.आरजु राणाको स्वास्थ्य लाभको कामना पनि गरेनन् । गम्भीर घाइते भएका बेला निरन्तर व्यक्तिगत रुपमा देउवामाथि प्रहार गरिरहे । देउवाले आफू मर्न तयार भए, घाइते भए तर, कांग्रेस बचाउन साहसिक निर्णय लिएर नियमित महाधिवेशनमा जान तयार भए । निर्वाचनको मुखमा महाधिवेशनभन्दा एकताबद्ध भएर कांग्रेस निर्वाचनमा होमिनु पर्ने थियो । महामन्त्रीद्वय थापा र शर्माको अदुरदर्शी हर्कत र गतिविधिले कांग्रेस ठूलो जोखिममा पर्ने सम्भावना छ ।

‘भदौ २४ गते कुटाइ खानु पर्‍यो, घर जल्यो, पार्टी कार्यालयहरू जले । यस्तो अवस्थामा पनि उहाँले पार्टीलाई एकतावद्ध गरेको प्रयासप्रति धन्यवाद दिन चाहन्छु,’ नेता खतिवडाले भने ।

उनले भने, ‘कांग्रेसले निर्णय नलिइकन देश अनिर्णयको बन्दी बनेको थियो । हामी एउटा पद्धतिमा गएका छौँ । कांग्रेस सबै कुराको तयारीमा छ ।’

‘सरकार अहिले पनि निर्वाचन गराउन तयार भएको देखिदैन । तीन महिना अगाडि आर्मीलाई सञ्चालन गरेर निर्वाचन गराउँछु भन्ने पद्धतिभन्दा जनताको मनोभावना अनुसार निर्वाचनतिर केन्द्रित गर्न सरकार लागोस्,’ कांग्रेस नेता खतिवडाले भने ।

उनले भने, ‘अहिले पनि केही मान्छे व्यक्तिको घरघरमा गएर थर्काउन गएका छन् । पुलिसको पुलिसको मनोवल गिरेको छ । ०४६ साल र सशस्त्र द्वन्द्वका बेला पनि यस्तो थिएन । मनोवल बढाउने काम सरकारको हो । सबै दलहरूसँग हामी छलफल गर्छौं ।’

खतिवडाले भने, ‘नयाँ नेतृत्वसहित जनताको बीचमा जानुपर्छ भन्ने सबैको चाहना भएकोले हामीले हतार हतारमा भए पनि स्थानीय तहदेखि केन्द्रसम्मको निर्वाचन कार्यतालिका प्रस्तुत गरेका छौं । सर्वसम्मत रुपमा निर्णय भएको छ ।’

‘माघ मसान्तसम्म केन्द्रदेखि वडासम्मको पदाधिकारी र सदस्यहरूको म्याद थप गरेका छौँ,’ उनले भने, ‘सक्रिय सदस्यदेखि केन्द्रसम्मको सर्वसम्मत रुपबाट म्याद थप गरेका छौँ ।’

Published : Tuesday, 2025 December 2, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया