प्रहरीको मनोवल बढाउन आईजीपी कार्कीद्वारा धनगढीमा सुदूरपश्चिमका प्रहरी र मातहतसँग भेट

धनगढी । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् ।

सोमबार साँझ आईजीपी कार्कीले कैलालीको धनगढीस्थित सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका हुन् । आईजीपी कार्कीले प्रहरी कमचारीहरूलाई उच्च मनोवलका साथ कायस्थलमा खटिएर काम गर्न निर्देशन दिएका छन् ।

निर्देशन कार्यक्रममा सहभागी एक उच्च प्रहरी अधिकृतका अनुसार आईजीपी कार्कीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी र दायित्व पनि प्रहरीको काँधमा आएको भन्दै डराउनु पर्ने अवस्था नरहेको बताए ।

जेनजी प्रदर्शनपछि प्रहरी कर्मचारीहरूमा मनोवल कमजोर भएको चर्चा चलिरहेका बेला आईजीपी कार्कीले प्रहरी कर्मचारीहरूलाई कुनै पनि दवाव र प्रभावमा नपरेर कार्यसम्पादन गर्न आग्रह गरे । उनले प्रहरी कर्मचारीहरूलाई कुनै समस्या वा कठिनाइ भएमा आफूले ढाल बनेर सहयोग गर्ने आश्वासन दिएका छन् ।

आईजीपी कार्कीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रहरी प्रमुख (डीआईजी) ओम रानाले स्वागत गरेका थिए । आईजीपी कार्कीलाई डीआईजी रानाले सुदूरपश्चिम प्रदेश प्रहरीको कामकारबाही, गतिविधि र तयारीका विषयमा जानकारी गराएका छन् ।

आईजीपी कार्कीले सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा सहभागी हुन गृहमन्त्री ओमप्रकाश अर्यालसँगै धनगढी आएका हुन् ।

Published : Tuesday, 2025 December 2, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया