विशेष महाधिवेशनको च्याप्टर क्लोज, सभापति देउवाको सक्रियताले कांग्रेस फुट्नबाट जोगियो : युवा नेता मल्ल

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य आदर्श मल्लले नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको मिति सर्वसम्मत रूप निर्णय गरेसँगै पार्टी पंक्तिमा नयाँ उत्साह देखिएको बताएका छन् ।

मंगलबार प्रेस नोट जारी गरेर नेविसंघका नेता मल्लले पार्टीलाई सम्भावित फुटबाट जोगाउन र नियमित महाधिवेशन सुनिश्चित गर्न सभापति शेरबहादुर देउवाले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।

कांग्रेसका युवा नेता समेत रहेका मल्लले सभापति देउवाको सकारात्मक र ऊर्जाशील सक्रियताका कारण नै पार्टी एकताबद्ध भएर महाधिवेशनको संघारमा पुगेको बताएका छन् ।

उनले भने, ‘पार्टीलाई फुटबाट बचाउन र वडादेखि नै नयाँ तथा युवा अनुहारलाई पार्टीमा समावेश गर्न उहाँले नियमित महाधिवेशनको पक्षमा राख्नुभएको स्पष्ट अडान प्रशंसनीय छ । उहाँको नव–युवा पुस्ताप्रतिको विश्वास र स्नेहले पार्टीलाई नयाँ गति दिएको छ ।’

कांग्रेस नेता मल्लले महाधिवेशनको वातावरण निर्माण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरेका छन् ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गरेर आफ्नो उच्च कार्यक्षमताको उदाहरण पेश गरेको मल्लले बताए ।

विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कांग्रेसका युवा नेता मल्लले आग्रह गरेका छन् ।

‘विशेष महाधिवेशनको प्रस्ताव रहेसम्म पार्टी फुट्न सक्ने सम्भावना जीवित रहन्छ,’ नेता मल्लले भने, ‘त्यसकारण नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा अब विशेष महाधिवेशनको मागको औचित्य सक्किएको छ ।’

मल्लले पार्टीभित्रका असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन र नियमित महाधिवेशनलाई भव्य रूपमा सफल पार्न आग्रह गरेका छन् ।

मल्लले भने, ‘अब हामीले देश र कांग्रेसका अगाडि उभिएका चुनौतीहरूको समाधान गर्दै नयाँ अवसरतर्फ अघि बढ्नुपर्छ । समयको मागअनुसार युवा सहभागिता सुनिश्चित गर्न र आवश्यक नीतिगत तथा संरचनागत सुधारका लागि सबै मिलेर पार्टीको विधान संशोधन गरौँ ।’

मल्लले आन्तरिक एकतालाई बलियो बनाउँदै महाधिवेशनसँगै आगामी संसदीय निर्वाचनको तयारीमा आजैदेखि एकताबद्ध भएर जुट्न पनि सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका छन् ।

भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले केही समूह बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते अवस्थामा सभापति देउवा उपचाररत रहेका बेला महामन्त्रीद्वय थापा र शर्माले स्वास्थ्य लाभको कामना समेत नगरेर कांग्रेसको नेतृत्व हत्याउन विशेष महाविधेशनको कुरा उठाइरहेका थिए । थापा र शर्माले महाधिवेशन प्रतिनिधिहरूको कीर्ते हस्ताक्षर गराएर पार्टी कार्यालयमा समेत बुझाएका छन् ।

Published : Tuesday, 2025 December 2, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया