केन्द्रीय समितिको निर्णयसँगै गगन–विश्वको विशेष महाधिवेशनको औचित्य समाप्त

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया शुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका छन् ।

सोमबार केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा.महतले महाधिवेशनको प्रक्रिया शुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताए । उनले भने, ‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि ? मूल कुरो अधिवेशन समयमा हुनुपर्‍यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि ।’

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’

डा.महतले विशेष महाधिवेशनको माग निष्कृय हुने बताए । उनले भने, ‘स्वतः निष्कृय यस मानेमा पनि हुन्छ किनकी हामीले माघ ८ गतेभित्रै टुंग्याउने भनेका छौं । त्यसको आधारमा जुन निर्वाचन हुन्छ, त्यसले हिजो प्रतिनिधित्व नभएकाहरूलाई पनि प्रतिनिधित्व गर्ने सुनिश्चितता गर्छ १५ औंले ।’

‘विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ । अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन,’ प्रवक्ता डा.महतले भनेका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनको माग गर्दै आएका छन् । उनीहरूको मागले हावा खाएको छ । कीर्ते हस्ताक्षर गराएर कथित ५४ प्रतिशत भन्दै पार्टी कार्यालयमा विशेष महाधिवेशका लागि भनेर दुई महामन्त्री थापा र शर्माले बुझाएका थिए ।

केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत नियमित १५औं महाधिवेशन गर्ने निर्णय भएपछि थापा र शर्माको विशेष महाधिवेशनको औचित्य समाप्त भएको छ ।

Published : Monday, 2025 December 1, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया