कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि थप गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिसहित सबै तहको कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा कांग्रेसको हालको कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

मंसिर २४ गतेदेखि लागू हुने गरी माघ मसान्तसम्म कांग्रेसको केन्द्रीय कार्यसमितिसहित सबै तहका पदाधिकारी र सदस्यहरूको म्याद थप गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८२ मंसिर २४ गतेदेखि लागू हुने गरी २०८२ माघ मसान्तसम्मका लागि थप गर्ने निर्णय गर्दछ र यो निर्णय निर्वाचन आयोगलाई जानकारी दिने ।’

‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४–२८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको र पार्टीको विधानअनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरूको अवधि २०८२ मंसिर २३ गतेसम्म कायम रहेको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘गत भाद्र २३ र २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका कारण पार्टीका संरचनाहृ ध्वस्त भएको र देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण २०८२ मंसिर २३ गतेभित्र पार्टीको १५ औं महाधिवेशन गर्न सम्भव नभएको र महाधिवेशन तयारीका क्रममा गर्नु पर्ने सम्पूर्ण कार्यहरू गर्न समेत थप समय आवश्यक भएकोले यस अवस्थालाई असाधारण स्थिति ठहर गरी, नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८२ मंसिर २४ गतेदेखि लागू हुने गरी २०८२ माघ मसान्तसम्मका लागि थप गर्ने निर्णय गर्दछ र यो निर्णय निर्वाचन आयोगलाई जानकारी दिने,’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य एवम् सबै तहको पदाधिकारी र सदस्यहरूको म्याद थप नहुने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । आफ्नै महामन्त्री पद अबैधानिक हुने भएपछि मंसिर २४ गतेदेखि लागू हुने गरेर थापा र शर्माले म्याद थपमा सर्वसम्मत निर्णयमा हस्ताक्षर गरेका छन् ।

Published : Monday, 2025 December 1, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया