भदौ २४ मा घुसपैठ गरी आगजनी गर्ने माओवादी नेताका स्वकीय सचिवसहित ६ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले भदौ २४ गतेको जेनजी प्रदर्शनमा तोडफोड, लुटपाट र आगजनी गर्ने समूहका ६ जनालाई पक्राउ गरेको छ ।

जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालय तथा सरकारी वकिल कार्यालयहरूमा तोडफोड तथा आगजनी गर्नेहरूलाई पक्राउ गरिएको आइताबर मोरङ प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने वर्ष ४१ का महेश नेपाल, वर्ष २६ का आवाज पौडेल, वडा नं. १० बस्ने वर्ष ३२ का राजिव यादव रहेका छन् ।

वर्ष ३७ का ताजिम अन्सारी, वडा नं. ११ बस्ने वर्ष २९ का अरुण साह र वडा नं. ६ बस्ने वर्ष ५५ का बलराम कामतलाई पनि पक्राउ गरिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका मध्ये वर्ष ३७ का ताजिम अन्सारी पूर्वमन्त्री एवम् तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता अमनलाल मोदीका स्वकीय सचिव हुन् । मोदी विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद थिए ।

ताजिम अन्सारी आगजनीमा संलग्न भइरहँदा तत्कालीन प्रतिनिधिसभाका सांसद मोदीका स्वकीय सचिव थिए । मोदी मन्त्री हुँदा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थिए ।

पक्राउ परेका व्यक्तिहरू उपर मोरङ जिल्ला अदालत, विराटनगरबाट अपराधिक उपद्रो मुद्दामा प्रकाउ पुर्जी जारी भएपछि पक्राउ गरिएको थियो ।

मंसिर १४ गते आइतबार उनीहरूको घर वतनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जेनजीको नाममा भदौ २४ गते मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूलाई कानूनी कारबाही भइरहेको छ ।

Published : Monday, 2025 December 1, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया