देउवाले जिम्मेवारी दिँदा पनि गगन–विश्वले काम गर्न सकेनन्, कुनै हालतमा विशेष महाधिवेशन नहुने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले विशेष महाधिवेशनका नाममा बखेडा झिकेर बबाल मच्चाइरहेका बेला केन्द्रीय कार्यसमितिबाट सर्वसम्मतिमा निर्णय गर्ने वातावरण बनाउन नेताहरूले दिनभरि परामर्शहरू गरेका छन् ।
आइतबार काठमाडौंमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र केन्द्रीय नेताहरूसँग अलग अलग भेटवार्ताहरू गरेका छन् । कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार सभापति देउवाले एकल र सामूहिक रुपमा नेताहरूसँग भेट गरेर सहमतिबाट अगाडि बढ्न सुझाव दिएका छन् ।
सभापति देउवाले आफूले कार्यबाहक सभापतिको जिम्मेवारी दिएको स्मरण गराउँदै पदाधिकारी र केन्द्रीय सदस्यहरूका बीच हुने सहमतिलाई आफूले स्वीकार गर्ने बताएका छन् । सभापति देउवाले फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रमा राखेर छलफलहरू अगाडि बढाउन आग्रह गरेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले आफू अनुकूल मिडियामा सूचनाहरू सम्प्रेषण गराउँदै आएका छन् । सहमति नै नभएका कुरालाई सहमति भयो भनेर गलत सूचनाहरू समाचारमा सम्प्रेषण गर्न लगाएको नेताहरूले बताएका छन् ।
पुसको अन्त्यमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याउने हो भने दुई महामन्त्री थापा र शर्माद्वारा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गर्नुपर्ने बहुमत पदाधिकारी र केन्द्रीय सदस्यहरूको छ । होइन भने विशेष महाविधेशन हुन नसक्ने र निर्वाचनपछि वैशाखमा मात्रै नियमित महाधिवेशन गर्ने गरेर कार्यतालिका ल्याउन संस्थापन पक्षले तयारी गरेको छ ।
सभापति देउवासहितका पदाधिकारी र शीर्ष नेताको तीन दिनदेखि जारी छलफलमा कार्यतालिका ल्याउने विषयमा परामर्शहरू भए पनि सहमति भएको छैन ।
नेताहरूबीच सहमति भएमा सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट केही निर्णय हुन सक्ने सम्भावना छ । यद्यपि, थापा र शर्माका कारण सोमबारको बैठक पनि सहमतिमा पुग्ने सम्भावना निकै कम छ ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिएमा आगामी पुस २७ देखि २९ गतेसम्म महाधिवेशनको कार्यतालिका ल्याउने गरेर सोमबारको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यतालिका प्रस्तुत गर्न सक्ने सम्भावना रहेको नेता रमेश लेखकले बताएका छन् ।
महाधिवेशनका लागि क्रियाशील सदस्यता, विधान मस्यौदा तथा निर्वाचन गरी तीन वटा समिति गठन गरिनेछ । समितिले काम गर्न नसके पुनः छलफल गरेर सहमतिमा महाधिवेशनको समय सार्न सकिने पनि नेता लेखकले बताएका छन् ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि सोमबार बस्ने केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्ने सम्भावना रहेको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका लगायतका विषयमा सर्वसम्मतिले निर्णय हुने वातावरण बन्ने सम्भावना रहेको बताएका छन् ।
उपचारमा सिङ्गापुर जानुभन्दा अगाडि सभापति देउवाले खड्कालाई कार्यबाहक सभापति दिएका थिए । यद्यपि, दुई महामन्त्री थापा र शर्माले कार्यबाहक सभापति खड्कालाई पेलेरै पार्टी कब्जा गर्ने योजना अगाडि सारेपछि कांग्रेसभित्र भाँडभैलो बनेको छ ।
कांग्रेसमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन पछाडि मात्रै नियमित १५औँ महाधिवेशन गर्नुपर्ने बिचार बलियो रुपमा छ ।
उता, आइतबार नै नयाँ बानेश्वरमा बसेको संस्थापन निकट केन्द्रीय सदस्यहरूको भेलाले पुसको अन्तिम साता महाधिवेशन गर्ने गरी ल्याउन खोजिएको कार्यतालिका नमान्ने निर्णय गरेको छ ।
आफूसँग छलफल नगरेको र विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता नगरी असम्भव कार्यतालिका ल्याउने तयारी गरेकाले त्यसमा विमति रहेको केन्द्रीय सदस्य गुरू बरालले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया