सर्प काण्डमा भ्रष्टाचारी ठहर भएका नेता पन्त एमालेमा सर्वसम्म प्रतिनिधि चयन

सर्लाही । नेकपा (एमाले), सर्लाहीमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका रेवती पन्त केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।

पन्त एमालेका मधेश प्रदेशका पूर्व सह–संयोजक हुन् । उनी सर्लाहीको निर्वाचन क्षेत्र नं. ३ बाट खुला क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि बन्न सफल भएका हुन् ।

नेता पन्त विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । २०८१ असारमा विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पन्तसहित ५ जनालाई दोषी ठहर गरेको थियो ।

प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपियाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको थियो ।

अख्तियारले २०८० असोज २१ गते मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्काविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

एमाले नेता पन्त तत्कालीन समयमा प्रतिष्ठानको अध्यक्ष थिए । प्रतिष्ठानको उद्देश्य लालबन्दी नगरपालिकासँगको सहकार्यमा विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम उत्पादन गर्ने तथा अनुसन्धान केन्द्र सञ्चालन गर्नु थियो ।

विशेष अदालतले पन्तलाई ८ वर्ष कैद र २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रुपियाँ असुल गर्न आदेश दिएको छ ।

एमाले नेता पन्त २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं. १ र ३ दुवै ठाउँबाट टिकटका लागि सिफारिस भए पनि कतैबाट पनि अवसर पाएनन् ।

भ्रष्टाचार ठहर भए पनि एमाले नेता पन्तको अस्वाभाविक जीवनशैलीका कारण जिल्लाभित्र आलोचना पनि हुँदै आएको छ । पन्तलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नै छोरा सरहको व्यवहार गर्दै आएका छन् ।

Published : Sunday, 2025 November 30, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया