महामन्त्रीहरूले विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनतर्फ लैजानुभयो : नेविसंघका नेता मल्ल

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य आदर्श मल्लले नेपाली कांग्रेसका महमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा पार्टी विभाजनतर्फ लैजान खोजेको बताएका छन् ।

शुक्रबार काठमाडौंको तीनकुनेमा युवा, विद्यार्थीको बृहत भेलालाई सम्बोधन गर्दै नेविसंघका नेता मल्लले भने, ‘विशेष महाधिवेशनको नाममा पार्टीलाई फुटाउन खोजिएको छ ।’

‘विशेष महाधिवेशन भनेको के हो ? महाधिवेशन कसले गर्ने ? कसको जिम्मेवारी हो महाधिवेशन गर्ने ?’ उनले भने, ‘जिम्मेवार पदाधिकारीहरू महामन्त्रीद्वयले विशेष महाधिवेनका लागि हस्ताक्षर गराएका छन् ।’

‘हस्ताक्षर जेलभित्र बसेका मान्छेको पनि गराइएको छ । पार्टीबाट कारबाही भएका मान्छेहरूको पनि हस्ताक्षर गराइएको छ । हस्ताक्षरको सनाखत पनि भएको छैन । पार्टीलाई कब्जा गर्ने नीति महामन्त्रीहरूले लिएका छन्,’ उनले भने ।

नेविसंघका नेता मल्लले भने, ‘महाधिवेशन कसरी गर्ने भन्ने कुरा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकश शर्माले पूर्णबहादुर खड्का र डा.शशांक कोइरालासँग सोध्नुस् । उहाँहरू पनि महामन्त्री हुनुहुन्थ्यो । महाधिवेशन सम्पन्न गराउनुभयो ।’

‘महामन्त्रीहरूले धम्की दिँदै हिँड्नुभएको छ । महामन्त्री पदबाट राजीनामा दिन्छु भन्नुभएको छ । तपाईहरूले धम्काउने काम नगर्नुस् । तपाईहरूले चुनाव लड्नै भन्नु हुन्छ । तपाईहरूले कुन निर्वाचन क्षेत्रमा गएर कांग्रेसको उम्मेदवारलाई जिताउनुभयो ?’ मल्लले भने ।

‘कांग्रेसको जिम्मेवार पदमा बसेका महामन्त्रीहरूले विशेष महाधिवेशनको नाममा पार्टीलाई फुटतर्फ धकेल्न खोजेका छन्,’ उनले भने, ‘पार्टीलाई फुटबाट बचाउन हामी युवा, विद्यार्थी एकीकृत भएका छौँ । खबरदारी गरेका छौँ ।’

विद्यार्थी नेता मल्लले भने, ‘सामाजिक सञ्जालमा नेताहरूलाई गालीगलौज गर्ने, आफ्ना समर्थकलाई साइबर सेनाका रुपमा परिचालन गर्ने खोजिएको छ । सोसल मिडिया र केही सञ्चारमाध्यमलाई आफ्नो फेससेभिङका रुपमा प्रयोग गर्न खोजेका छन् ।’

‘देश जलिरहेको थियो । संविधानमाथि प्रहार भएको थियो । सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या हुने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । घरमा लुटपाट, तोडफोड र आगजनी भएको थियो । अराजक समूहले भौतिक आक्रमण गरेको थियो । पार्टी कार्यालय जलेको थियो । त्यस्तो अवस्थामा हाम्रा जिम्मेवार नेताहरूले भदौ २३ र २४ को जेनजी आन्दोलनको बहानामा बखेडा झिकेर विशेष महाधिवेशनको नाममा अनिर्णयको बन्दी बनाउन खोजेका छन्,’ मल्लले भने ।

नेविसंघका नेता मल्लले सभापति देउवा र नेतृ डा.राणामाथि सांघातिक आक्रमण भएर गम्भीर घाइते भएका बेला महामन्त्रीद्वय थापा र शर्माले स्वास्थ्य लाभको कामना समेत नगरेर पार्टी कब्जा गर्न विशेष महाधिवेशनको बहानामा हस्ताक्षर अभियान चलाएको बताएका छन् ।

Published : Friday, 2025 November 28, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया