सबैका माग आफ्नो ठाउँमा उचित छन्, सडकमा रमिता नगरौँ, छिटो सहमति गरौँ : कांग्रेसका युवा नेता आचार्य

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बाबुराम आचार्यले पार्टीको हित चाहनेहरू सबै एकताबद्ध भएर सर्वसम्मतिका साथ अगाडि बढ्नपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता आचार्यले विशेष महाधिवेशनको माग गर्ने र नियमित महाधिवेशनको पक्षमा रहेका सबैले सहमति खोज्नुपर्ने समय आएको बताए । उनले विशेष महाधिवेशन पक्षधर नेताहरूको कुरामा पनि सुनुवाई गर्न सुझाव दिएका छन् । उनले आन्तरिक लोकतन्त्र कांग्रेसभित्र जीवित रहे पनि लोकतन्त्रको नाममा सडकमा रमिता देखाउन नहुने बताएका छन् ।

नेता आचार्यले भने, ‘गुट र उपगुटको कुरा छाडौं । को नेतृत्वमा पुग्छ त्यो पनि छाडौं । अधिवेशनको माग नाजायज छैन । पटक पटक भन्छु । नियमित महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशन हुनु पर्छ भन्ने माग पनि गलत छैन ।’

‘सभापति, पदाधिकारी वा सदस्यहरूमा जोसुकै चुनिनु होस् । अधिवेशनको कुरा उठिसकेपछि ब्याक हुनु राम्रो होइन । पटक्कै राम्रो होइन । पार्टी, लोकतन्त्र र मुलुकलाई नै घाटा हुन्छ,’ युवा नेता आचार्यले भने ।

‘नेतृत्वगण कृपया तत्काल अधिवेशनको मिति तोक्नुहोस्, कांग्रेस पार्टीलाई दुर्घटनाबाट बचाउनुहोस् । कार्यकर्ता र शुभचिन्तकमा भएको महाधिवेशनको अन्योल हटाउनुहोस्,’ आचार्यले भने ।

नेता आचार्यले पार्टीको विधानमा संशोधन गरेर ४ वर्षको कार्यकाल बनाउने र कुनै पनि हालतमा ४ वर्षभित्रै महाधिवेशन गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् ।

नेता आचार्यले पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि भदौ २४ गते हत्या गर्ने उद्देश्यले भएको सांघातिक आक्रमणको निन्दा गरेका छन् । उनले घटनामा संलग्नहरूलाई कानूनको दायरमा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन् ।

Published : Friday, 2025 November 28, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया