विशेष महाधिवेशनको नाममा गगन-विश्वको बार्गेनिङ्ग, पहिला क्रियाशील टुङ्ग्याऔँ : नेता गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले विशेष महाधिवेशन गर्ने नै हो भने हस्ताक्षरहरू सनाखत र प्रमाणीकरण तत्काल शुरु गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन नै नचाहेको बरु विशेष महाधिवेशनको बहानामा बार्गेनिङ गरहेको आरोप लगाए । राष्ट्रियसभा गृहको भेला र कुनै पनि नेताको हस्ताक्षर नरहेको बेवारिसे प्रेस विज्ञप्ति जारी गरेका लगायतका तर्क दिँदै नेता गुरुङले विशेष महाधिवेशन कुनै पनि हालतमा नहुने र गगन–विश्व पनि विशेष महाधिवेशनको पक्षमा नरहेको बताएका छन् ।
उनले भने, ‘कसै कसैलाई विशेष महाधिवेशनको विकल्प नै छैन भन्ने लाग्न सक्छ । तर, पार्टीमा विशेष महाधिवेशनको पनि धेरै विकल्प नै विकल्पहरू छन् ।’
‘धारा १७(२) अन्तर्गत मागिएको विशेष महाधिवेशनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको अनिवार्य हस्ताक्षर माग्छ । यसैले हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण हुनु वैधानिक आवश्यकता र अनिवार्यता हो । यसैले अनिवार्यरुपमा हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण तत्काल शुरु गरौं,’ उनले भने ।
‘सनाखत र प्रमाणीकरणको विधि, प्रक्रिया र मापदण्ड निर्माण गरौँ । हस्ताक्षरहरूको सनाखत गर्न पदाधिकारीहरूको एउटा समिति निर्माण गरौँ,’ गुरुङले भने, ‘सनाखत शुरु भएपछि बढीमा २५ प्रतिशत हस्ताक्षरहरूको सनाखत पनि हुने संभावना देखिदैन ।’
‘महामन्त्रीहरू नै विशेष महाधिवेशनप्रति ईमानदार देखिनु भएन भन्नेमा गुनासो व्यापक नै सुनियो,’ गुरुङले भने, ‘यदि उहाँहरू वास्ततवमा विशेष महाधिवेशनप्रति ईमानदार हुनु भएको भए राष्ट्रियसभा गृहको कार्यक्रममा जानु हुन्थ्यो र सम्बोधन पनि गर्नु हुन्थ्यो भन्ने आम धारणा सुनिन्छ ।’
‘महामन्त्रीहरूले विशेष महाधिवेशनलाई बार्गेनिङ्ग टुल्सको रुपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने आम धारणा विकसित भई सकेको सुनिन्छ,’ उनले भने, ‘चार, राष्ट्रियसभा गृहको कार्यक्रममा बढीमा ७० देखि ८० जना जति मात्रै महाधिवेशन प्रतिनिधिहरू हुनु हुन्थ्यो र अन्य सहभागीहरू महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्नथ्यो भनेर त्याहाँ सहभागीमध्ये एकजनाले सुनाउनु भयो ।’
‘जसमध्ये पनि चार जना केन्द्रीय सदस्यहरू, दुई जना प्रदेश सभापतिहरू, तीन जना जिल्ला सभापतिहरू र केही क्षेत्रीय सभापतिहरू मात्रै हुनुहुन्थ्यो,’ नेता गुरुङले भने ।
‘विशेष महाधिवेनको अग्रसरता लिनेहरूमध्येमा पनि कसरी अगाडि बढने भन्ने विषयमा एकमत छैन । तीब्र र गंभीर असहमति र मतभिन्नताहरू छन् भन्ने स्पष्ट देखिन थालेको छ,’ उनले भने, ‘उहाँहरूले हस्ताक्षर नभएको प्रेस विज्ञप्ति निकाल्न बाध्य हुनुले नै यसको प्रष्ट संकेत गरिसकेको छ । किनकि हस्ताक्षर नभएको प्रेस विज्ञप्तिको कुनै पनि आधिकारिकता नै हुँदैन ।’
‘हस्ताक्षरको सनाखत र प्रमाणीकरण गर्दा ४० प्रतिशत नपुगेमा विशेष महाधिवेशन बोलाउनु पर्दैन,’ केन्द्रीय सदस्य गुरुङले भने, ‘सात, विधानको धारा १७(२)को कार्यान्वयनको लागि नियमावली र कार्यविधि तत्काल तयार गर्न समिति गठन गर्ने ।’
‘क्रियाशील सदस्यता छानविन समिति तत्काल गठन गर्ने । अवसर नपाएका युवाहरूलाई समावेश गरि विधानको धारा २३ अनुसारको कार्य सम्पादन समिति र धारा ३१ को उपधारा १(घ) अनुसारको केन्द्रीय संसदीय समिति तत्काल गठन गर्ने,’ उनले भने, ‘राष्ट्रिय सभा सदस्य पद र प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष र समानुपातिक तर्फ) पदका उम्मेदवारहरूको नामावली एकै पटक तत्काल सार्वजनिक गर्ने ।’
‘विधानको धारा ३३(१) र ३३(३) लाई पुर्ण पालन गर्ने । विधानको धारा ३३(१) मा लेखिएको छ – कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिना पूर्व अन्तिम निर्णय गरि सक्नु पर्नेछ,’ नेता गुरुङले विधानको व्यवस्थाबारे भनेका छन् ।
‘विधानको धारा ३३(३) अनुसार प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा समानुपातिकतर्फको उम्मेदवारको निर्णय गर्दा कुनै पनि निर्वाचन क्षेत्रबाट एकभन्दा बढी उम्मेदवार दिइनेछैन,’ उनले भने, ‘प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष तथा वडा सदस्यहरूको निर्वाचनमा पार्टीले कहिल्यै पनि कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने घोषणा गरेको निर्णय गर्ने ।’
उनले भने, ‘पार्टी चुनावको तयारीमा दत्तचित्त भएर लाग्ने । क्रियाशील सदस्यहरूको टुङ्गो भई सकेपछि १५औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने । तत्काल महाधिवेशनको लागि आवश्यक सम्पूर्ण समितिहरू गठन गर्ने ।’
‘महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यहरूको अन्तिम नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई सुम्पिने । केन्द्रीय निर्वाचन समितिले निर्दैशिका र कार्यविधि सहित सबै स्थानमा निर्वाचन गराउन निर्वाचन प्रतिनिधिहरू तत्काल खटाउने,’ गुरुङले भने, ‘केन्द्रीय निर्वाचन समितिले कार्यतालिका अनुसार पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्ने । विधानको धारा १७(२)ले नेतृत्व परिवर्तन गर्न सक्छ भनेर धेरैले धेरैलाई भ्रम छर्न सफल भएका छन् । यो मुढ तर्क र गलत व्याख्या हो ।’
नेता गुरुङले भने, ‘सबैजना बेलैमा प्रष्ट भएको राम्रो हुन्छ कि विधानको धारा १७(२) ले पार्टीको नेतृत्व परिवर्तन गर्न एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन र कुनै पनि हालतमा कहिल्यै पनि सक्दैन ।’
‘धारा १७(२) को व्यवस्था पार्टीको नीतिमा तत्काल असाधारण परिवर्तन गर्न आवश्यक प¥यो भने त्यस्तो समयमा विधानको यो धाराको प्रयोग गर्ने हो,’ उनले भने, ‘नेपाली कांग्रेसले अहिले बहुदलीय संसदीय व्यवस्था मानिरहेको छ । तर, एक क्षणलाई मानौं पार्टीका बहुसंख्यक साथीहरूले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहे भने त्यो अवस्थामा विधानको धारा १७(२) को प्रयोग गर्न सकिनेछ भन्ने आशयले यो व्यवस्था विधानमा राखिएको हो ।’
‘धारा १७(२) को मुढ व्याख्या गरेर समस्याको समाधान होइन कि समस्यामाथि झन् समस्या थप्ने काम मात्रै हुन्छ,’ उनले भने, ‘पार्टीलाई अझ कमजोर पार्ने र साथीहरुको मनोबल अझ खस्काउने काम हुन्छ ।’
‘यसैले विधानको धारा १७(२)को गलत व्याख्या गर्न र गराउन तत्काल बन्द गरौं । साथीहरूले महाधिवेशनको कार्यतालिका मात्रै चाहेका हुन् कि १५ औं महाधिवेशन नै चाहेका हुन्, प्रष्ट हुनु पर्छ,’ उनले भने, ‘कार्यतालिका मात्रै चाहेका हुन् भने त्यो पनि स्पष्ट शब्दमा भन्नु पर्छ । कम्मल ओढेर लुकीलुकी घ्यु खाएको जस्तो गर्नु भएन ।’
‘क्रियाशील सदस्यहरूको टुङ्गो नलागेसम्म कुनै पनि हालतमा १५औं महाधिवेशन हुनै सक्दैन । यसर्थ, सबैभन्दा पहिले क्रियाशील सदस्यहरूको टुङ्गो लगाऔं,’ उनले भने ।
‘संसारमा विकल्प नभएको मान्छे र विकल्प नभएको समस्याहरू छैनन् । विशेष महाधिवेशनको पनि धेरै विकल्पहरू छन् । विशेष महाधिवेशनको डर देखाएर कसैले पनि आफ्नो स्वार्थ सिद्धि नगरौं । यहाँ कोहि पनि विशेष महाधिवेशनदेखि डराएको वा तर्सिएको छैन । डर मान्ने र तर्सिने मानिसहरू पनि पार्टीमा छैनन्,’ केन्द्रीय सदस्य गुरुङले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया