पोखराको अर्बौ भ्रष्टाचारमा डामिएका प्रदीपले कर्मचारीहरू थर्काए, प्राधिकरणमा सतर्कता केन्द्रद्वारा छापा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सव आगामी पुस १६ गते मनाउनका लागि तयारी स्वरुप मूल आयोजक समितिको बैठक बसेकै दिन राष्ट्रिय सतर्कता केन्द्रले छापामारेर केही दस्तावेजहरू उठाएर लगेको छ ।
बुधबार काठमाडौंको सिनामंगलस्थित केन्द्रीय कार्यालयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा बसेको छ । बैठकमा उपमहानिर्देशक तथा एघार तहका विभागीय प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको तयारीका लागि भनेर बोलाइएको बैठकमा महानिर्देशक अधिकारीले विषयबस्तुभन्दा बाहिर गएर गालीगलौजमा उत्रिएको बैठकमा सहभागी एक उच्च कर्मचारीले बताए ।
महानिर्देशक अधिकारीले बैठकमा सहभागी कर्मचारीहरूलाई थर्काएको उदृत गर्दै ती उच्च कर्मचारीले भने– जेनजी भनेको पनि म हुँ । रिपब्लिका दैनिक लगायतका मिडियामा समाचार दिनेहरूको विवरण मैले राखेको छु । अब एक महिनापछि सुशीला सरकार ढल्छ । त्यसपछि म सबैको हिसाब किताब गर्छु ।’
महानिर्देशक अधिकारीले बैठकमा उच्च तहका कर्मचारीहरूलाई निकै हप्काएको ती उच्च तहका कर्मचारी भनाइ छ । अन्तरिक लेखा परीक्षणका रिपोर्टहरू महालेखा परीक्षकहरूलाई बुझाएको भन्दै महानिर्देशक अधिकारीले अर्थ विभाग प्रमुख शिखा शर्मा बास्तोला र आन्तरिक लेखा परीक्षण प्रमुख काशिनाथ पौडेललाई गालीगलौज गरेको ती प्रत्यक्षदर्शी उच्च तहका कर्मचारीले बताएका छन् ।
यसअघि, करीव एक महिना अगाडि आफूले भनेको नमानेपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कर छुट वापतको दुई अर्ब २२ करोड ४० लाखको महालेखाको बेरुजु फछ्यौटको फाइलमा साइन गर्न नमानेको, नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको बोनस वापत प्रतिदिन करीव १७ लाखका दरले दुई सय दिन बराबरको करीव ३४ करोड रुपियाँको निर्णय गर्न नमानेपछि अर्थ विभाग प्रमुखबाट महानिर्देशक अधिकारीले काशिनाथ पौडेललाई हटाइ शिखा शर्मा बास्तोलालाई सरुवा गरेको प्राधिकरणमा चर्चा छ ।
महानिर्देशक अधिकारीले प्राधिकरणमा जथाभावी निर्णय गर्न थालेपछि जो जसलाई जहाँ सुकै सरुवा गरे पनि फस्ने डरले उनले भनेअनुसारको निर्णय गर्न कुनै पनि कर्मचारी तयार छैनन् ।
लक्ष्मीपूजाको दिन तान्त्रिक बाबालाई भारतबाट झिकाइ महानिर्देशकको कार्यकक्षमा पूजापाठ गरेको समाचार रिपब्लिका दैनिकमा प्रकाशित भएको थियो । पूजापाठको तस्बिर खिच्ने कर्मचारीतर्फ संकेत गर्दै मेरो, भिडियो, फोटो, समाचार दिने कर्मचारीलाई अब एक महिनापछि बन्ने नयाँ सरकार आफूले भने बमोजिम बन्ने, नयाँ सरकार आएपछि आफू पुनः महानिर्देशकमा दोहोरिएर आउने र विरोधी सबैलाई ठेगान लगाउने धम्की दिएको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महानिर्देशक अधिकारी बयानका लागि निरन्तर धाइरहेका छन् । अधिकारीले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताका सम्बन्धमा अख्तियारमा बयान दिइरहेका छन् ।
नलिञ्चोक हेलिप्याड निर्माणमा करीव २५ करोड र पोखरा विमानस्थलमा जग्गा खरिददेखि निर्माणसम्म प्राधिकरण, नेपाल सरकार र चिनियाँ ऋण समेत गरी झण्डै ३५ अर्ब अनियमितता भएको आरोप महानिर्देशक अधिकारीलाई लाग्दै आएको छ । पोखरा विमास्थल घोटाला प्रकरणमा सार्वजनिक लेखा समितिले महानिर्देशक अधिकारीलाई निलम्बन गरेर कारबाही सिफारिस गरिसकेको छ ।
पछिल्लो समय अख्तियारमा निरन्तरको बयान र आजैको मितिबाट अवकासमा भएका मुख्यसचिव एकनारायण अर्याल नरहेपछि झन् तनाबमा परेका छन् ।
महानिर्देशक अधिकारीलाई लेखा समितिले कारबाही सिफारिस गर्नुका साथै उनीहरू विभिन्न निकायमा उजुरीहरू पर्दा समेत सुशासनको नाममा बसेको जेनजी सरकारले समेत केही नगरेपछि प्राधिकरणका कर्मचारीहरू दिक्क भएका छन् ।
यसैबीच, प्राधिकरणमा राष्ट्रिय सतर्कता केन्द्रले छापामारेको छ । बुधबार तीन बजेतिर प्राधिकरणको केन्द्रीय कार्यालयमा केन्द्रका कर्मचारीहरू आएर छापामारेर हाजिरीको डाटा र दस्तावेजहरू उठाएर लगेको उच्च स्रोतले जनाएको छ ।
महानिर्देशक अधिकारी कहिल्यै पनि समयमा कार्यालयमा उपस्थिति नहुने, कार्यालयको बायोमेट्रिक हाजिरीमा हाजिर गर्दैन थिए । बायोमेट्रिक हाजिरीमा अधिकारी गयल देखिएको कर्मचारीहरूले बताएका छन् ।
लगातार ९० दिनसम्म गयल भएमा कर्मचारीको गयल खारेज गरी पदबाट निलम्बन गर्न सक्केसम्मको कानूनी व्यवस्था छ । अधिकारीको जागिर जीवनको १८ वर्षसम्म नियमित रुपमा हाजिर नभएको तथ्यङ्कले समेत देखाएको कर्मचारीहरूको दाबी छ । यो विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रले कुनै पनि कारबाही गरेको छैन ।
यता, अधिकारी आफू महानिर्देशक भएपछि वैदेशिक भ्रमणमा जाँदा आफ्नो काजको स्वीकृति आफै गर्ने गरेका छन् । जुन कानूनी दृष्टिले अख्तियारको दुरुपयोग र भ्रष्टाचार भएको मानिन्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया