मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
बकैया । बागमती प्रदेशका मुख्यमन्त्री मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।
बुधबार बानियाँले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभइ मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताए । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको बताए ।
उनले भने, ‘गाउँमा विकास पुगेको, बाटो, पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरू अझै पनि यो व्यवस्था उल्ट्याउने सोँचमा छन् । यस्ता व्यवस्था धेरै टिक्दैनन् । समयले त्यसलाई छोडेर जान्छ ।’
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा, लगायतका विकास–निर्माण क्षेत्रमा धेरै लगानी गरेका बताए । बकैया गाउँपालिकामा पूर्वाधारका हिसाबले पनि मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको उनले बताए ।
बकैया गाउँपालिका वडा नं. ३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालय परिसरमै चार तले भव्य भवन निर्माण भएको छ । यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रष्टको भवनमा रहेको थियो ।
संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभा हल दुई वटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालयलगायतका संरचना रहेका छन् ।
गाउँपालिकासँग भवन २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ साल जेठ ३१ गते सम्झौता भएकोमा सो अवधिमा पूरा नभएपछि म्याद थप गरिएकोमा गत भदौ ३१ गते निर्माण सम्पन्नभएको थियो ।
भवन निर्माण सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपियाँमा भएकोमा भवनको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धिकरसहित सात करोड ९५ लाख ६७ हजार ९१७ रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी भएको छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायत विभिन्न राजनैतिक दलका व्यक्तित्व, समाजसेवी, स्थानीयहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया