एक सय दिनमा बागमती सरकारको उल्लेखनीय कार्य प्रगति

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताएका छन् ।

मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री बानियाँका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको बताए ।

भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ । प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ ।

क्यान्सर पीडितलाई ५० हजारसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण भेगमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा, र आयुर्वेद औषधि उत्पादनमा १० नयाँ उत्पादन क्षमता विस्तार गरिएको बानियाँले बताए ।

जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मनहरी–९ की मीठुमाया सुनारलाई मुख्यमन्त्रीको व्यक्तिगत लगानीमा निर्माण गरिएको घर हस्तान्तरण स्वास्थ्य–सामाजिक क्षेत्रमा गरिएको महत्वपूर्ण कार्य रहेको एक सय दिनको कार्यप्रगति विवरणमा उल्लेख छ ।

कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाबाट भएको क्षति न्यूनीकरणका लागि राहत कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री बानियाँले बताएका छन् ।

लम्पी स्किन रोगविरुद्ध ९६ हजार ३४७ डोज खोप वितरण, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवा विस्तार, कृषि थोक बजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेतमुक्त क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख छ ।

उद्योग, व्यापार तथा श्रम क्षेत्रका उपलब्धिमा २ हजार ६६७ नयाँ उद्योग–व्यापार दर्ता, ७१२ व्यवसाय अनुगमन, ‘एक वडा–एक उद्यम’ कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान तथा यातायात कागजातमा जरिवाना छुट र पुनर्निर्माण व्यवस्था लागू गरिएको धोरणगत सुधार समेटिएको छ ।

युवा, खेलकुद तथा पर्यटन क्षेत्रतर्फ ५० योजनाको लागत अनुमान तयार, आठ पर्यटन पूर्वाधार स्थानीय तहलाई हस्तान्तरण, ५३७ नयाँ गाइड, होटल तथा एजेन्सी दर्ता, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट हस्तान्तरण र पाँच सय विद्यार्थीलाई साइबरक्राइम तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री बानियाँले बताए ।

मुख्यमन्त्री बानियाँले १०० दिनभित्रका यी उपलब्धिहरूले प्रदेश विकासमा नयाँ गति दिएको बताए । आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता उनले जनाएका छन् ।

Published : Wednesday, 2025 November 26, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया