कांग्रेसको निर्णयसँगै निर्वाचन केन्द्रित कार्यक्रममा होमियो तरुण दल, अध्यक्ष गुरुङद्वारा परिपत्र
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले फागुन २१ गतेको निर्वाचनलाई सहयोग हुने गरेर निर्वाचन लक्षित कार्यक्रमहरू गर्न मातहतलाई निर्देशन दिएका छन् ।
मंगलबार अध्यक्ष गुरुङले तरुण दलको सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र जारी गरेर देशभरि निर्वाचन केन्द्रित कार्यक्रमहरू गर्न आग्रह गरेका हुन् । पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा देशको वर्तमान राजनीति अवस्थालाई दृष्टिगत गरी दलको केन्द्रीय कार्यालयबाट नेपाल तरुण दलका सबै जिल्ला कार्यसमितिहरूलाई तपशिल बमोजिम गर्न/गराउन यो परिपत्र गरिएको छ ।’
अध्यक्ष गुरुङले भनेका छन्, ‘र्याली लगायत मार्च पास गरी कोण सभा आयोजना गर्ने । सभालाई सम्बोधन गर्दा निर्धारित समयमै निर्वाचनको सुनिश्चितताको बारे सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउने ।’
‘जिल्लास्थित नागरिक समाज, सुरक्षा अधिकारी, जेनजी युवा, निर्वाचन कार्यालयको अधिकारी, मतदाताहरू लगायतको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम गर्ने,’ परिपत्रमा अध्यक्ष गुरुङले निर्देशन दिएका छन् ।
‘जिल्लामा रहेका जेनजी उमेर समूहका युवाहरूलाई पार्टीको जिल्लास्थित नेतागणहरूको उपस्थितिमा व्यापक रुपमा दल प्रवेशको कार्यक्रम आयोजना गर्ने,’ तरुण अध्यक्ष गुरुङले भनेका छन् ।
‘जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई शान्ति, अमनचयनको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाउने,’ अध्यक्ष गुरुङले भने, ‘ध्यानाकर्षण पत्र बुझाउन जाँदा जिल्लास्थित सम्पूर्ण तहलाई एकताबद्ध भएर लाने ।’
‘जिल्लाको मतदाताहरू लक्षित सचेतना कार्यक्रम आयोजना गर्ने । स्थानीय सरकारबाट हुने विकासको कार्यक्रममा आवश्यक ठानिएको स्थानमा स्वयंसेवकको भूमिका निर्वाह गर्न तरुणहरू परिचालित गराउने,’ परिपत्रमा भनिएको छ ।
‘नेपाल तरुण दलको पाँचौ महाधिवेशनको सन्दर्भमा वितरण हुँदै आइरहेको दलको पूर्ण सदस्यता फाराम वितरण कार्यलाई तिव्रताकासथ निरन्तरता दिने र जिल्ला अधिवेशनको तयारी गर्ने । साथै पूर्ण सदस्यता केन्द्रवाट स्विकृत भैसकेपछि मात्र अधिवेशनको कार्यक्रम सुरु गर्न समेत जानकारी गराइन्छ,’ तरुण अध्यक्ष गुरुङले भनेका छन् ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रुपमा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । कांग्रेसको तयारीसँग तरुण दलका अध्यक्ष गुरुङले देशभरिका तरुणहरूलाई निर्वाचन केन्द्रित कार्यक्रमहरू गर्न निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया