विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन, ब्याक गियर नहुँदा गाडी दुर्घटना हुन्छ : जीतजंग बस्नेत

काठमाडौं । महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा र उनीहरूको समूहले पार्टी विभाजन हुने गरेर उत्तेजित गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेतले भने, ‘पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन ।’

‘ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ,’ नेता बस्नेतले भने, ‘ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चत छ ।’

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत कांग्रेस विभाजनसम्मको संकेत गर्दै स्टाटस लेखेपछि विरोध भइरहेको छ । कीर्ते हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका महामन्त्री थापाले हस्ताक्षरहरूको सनाखत गर्न पनि मानेका छैनन् ।

नेता बस्नेतले महामन्त्री शर्मालाई औकातमा बस्न र ब्याक गियर नहुँदा गाडी दुर्घटना हुने भनेर सचेत गराएका छन् । शर्माले विशेष महाधिवेशनबाट ब्याक नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि आलोचना भएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको टिकटमा सभापति देउवाको हस्ताक्षर चल्नेछ । सोही जानकारी निर्वाचन आयोगलाई गराउँदै दल दर्ता गराएपछि महामन्त्री थापाले विशेष महाधिवेशन गराएर नयाँ सभापतिमार्फत हस्ताक्षर हुने धम्की दिएका थिए ।

महामन्त्री थापाको धम्कीलाई कांग्रेस नेता बस्नेतले चेतावनी शैलीमा विशेष महाधिवेशन कुनै पनि हालत नहुने बताएका छन् ।

Published : Tuesday, 2025 November 25, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया