कांग्रेस विभाजन हुने अवस्था भयो भने त्यसको जिम्मेवारी विशेष महाधिवेशन बोलाउनेहरूले लिनुपर्छ : कृष्णप्रसाद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी विभाजनको अवस्था आयो भने त्यसको जिम्मेवारी विशेष महाधिवेशन बोलाउने निर्णय गर्नेहरूले लिनुपर्ने चेतावनी दिएका छन् ।
हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा नेता सिटौलाले चुनावको मुखमा विशेष महाधिवेशनको कुरा गरेर कार्यकर्ताहरूमा विभाजनको बीउ नरोप्न आग्रह गरे । उनले भने, ‘पार्टी विभाजन हुने अवस्था आयो भने विशेष महाधिवेशन बोलाउने निर्णय गर्नेहरूले त्यसको जिम्मेवारी लिनुपर्छ ।’
‘हामीले भनिरहेका छौँ, विशेष महाधिवेशन बोलाउनुभयो भने झगडा, कलह हुन्छ,’ सिटौलाले भने, ‘विशेष महाधिवेशन नबोलाउनुस् भनिरहेका छौँ बारम्बार । यो कलह हुन्छ । झगडा हुन्छ ।’
भदौं २४ गते सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले निवासमा प्रवेश गरेर केही अराजक समूहले सांघातिक आक्रमण गरेको बेला विशेष महाधिवेशनको कुरा उठेको सिटौलाले बताए । भदौ २३ गतेको जेनजी आन्दोलन जायज भए पनि भदौ २४ गतेको आन्दोलन जेनजीको नरहेको उनले बताए ।
महामन्त्री गगन थापाप्रति संकेट गर्दै नेता सिटौलाले भने, ‘तपाई आफै महामन्त्री हुनुहुन्छ । तपाईलाई योभन्दा बढी के चाहियो ? टिकट बाँड्नु हुन्छ आफै । तपाई बोर्डको महामन्त्री हो । बिगतमा पनि आफै टिकट बाँडेकै हो । तपाईले दिएको टिकट त हामीले लिएर गएका हौँ ।’
नेता सिटौलाले कांग्रेसमा विधि, पद्धति रहेको बताएका छन् । उनले कुनै व्यक्तिले चाहेको भरमा कांग्रेसको विधि, पद्धतिलाई उल्लंघन गर्न नसक्ने बताए ।
‘टिकट व्यक्तिले खल्तीबाट चकलेट निकालेर दिए जस्तो दिन मिल्दैन होला । संसदीय बोर्ड गठन हुन्छ होला, छलफल हुन्छ होला । संसदीय बोर्डलाई जे उचित लाग्छ त्यो गर्नु हुन्छ । तपाईलाई के लागेको हुन सक्छ भने कुनै व्यक्ति अगाडि सा¥यो भने राम्रो हुन्छ भन्ने, त्यो हुँदैन कांग्रेस पार्टीमा,’ नेता सिटौलाले भने ।
बिगतमा पार्टीका शीर्ष नेताहरू मिल्न नसक्दा कांग्रेसलाई क्षति भएको उनले बताएका छन् । ‘गणेशमानजी, किसुनजी र गिरिजाबाबुको पालामा जतिबेला मिलेर हिँड्नुभयो राम्रो परिणाम । जति बेला मिलेर हिँड्नु भएन गलत परिणाम । अहिले पनि हामी मिलेर हिँडौं राम्रो परिणाम, मिलेर हिँड्न सकिएन भने नराम्रो परिणाम,’ उनले भने ।
‘निर्वाचनको बीचमा आन्तरिक प्रतिस्पर्धा कांग्रेसलाई ठूलो घाटा हुन्छ । यो काम गर्नु हुँदैन । समय छैन,’ नेता सिटौलाले भने ।
महामन्त्री थापाले विशेष महाधिवेशनको बहानामा चुनावको मुखमा कांग्रेसभित्र बबण्डर मच्चाइरहेका छन् । थापाका गतिविधिले कांग्रेसलाई विभाजनतिर लैजान लागेको भनेर टिकाटिप्पणी भइरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया