गुम्बामा हतियार लुकाएको भन्ने आरोपप्रति हिन्दु–बौद्ध समाजको कडा आपत्ति

काठमाडौं । नेपालमा सदियौंदेखि कायम हिन्दु–बौद्ध एकता र सदभावलाई खल्बल्याउने गरी “गुम्बाहरूमा हतियार लुकाएर राखिएको छ” भन्ने भ्रामक र आधारहीन आरोप लगाउनेहरूप्रति हिन्दु तथा बौद्ध समाजले घोर आपत्ति जनाएको छ ।

सोमबार संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा बौद्ध धर्मको तथा हिन्दु धर्मका गुरुहरूले पवित्रस्थल गुम्बाहरूलाई हतियार भण्डारणको अखडा भनी गरिएका अभिव्यक्तिलाई “कपोलकल्पित, मनगढन्ते र बौद्ध आस्थामाथिको ठाडो प्रहार” भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “बुद्ध जन्मिएको देश भनेर विश्वले चिन्ने नेपाललाई बौद्ध शिक्षाको केन्द्र बनाउनुपर्नेमा यस्ता अफवाह फैलाएर धर्म र समुदायबीच द्वेष फैलाउने प्रयास गरिएको छ । यस्तो कार्यले हिन्दु–बौद्धबीचको सदभाव भत्काउने र घृणा रोप्ने षड्यन्त्र देखिन्छ ।”

विज्ञप्तिमा आरोप लगाउनेहरूलाई आरोपलाई खण्डन गर्दै हतियार रहेको प्रमाण छभने तत्काल सार्वजनिक गरेर प्रमाणित गर्न र दोषी गुम्बालाई कारबाही गर्न सरकारसँग संयुक्त अनुरोध गरेका छन् त्यस्तै प्रमाण नभए सार्वजनिक रूपमै बौद्ध समुदायसँग क्षमा याचना गर्न अनुरोध गरेका हुन् । विज्ञप्ति मार्फत माफी नमागे संयुक्त रूपमा कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिमा गुम्बाहरू शान्तिको केन्द्र भएको र ध्यान, दीक्षा, शिक्षा र साधनाका लागि सधैं सबैका लागि खुला रहेको स्पष्ट पारिएको छ । गुम्बामा प्रवेशका आ–आफ्ना विधि र अनुशासन हुने तर, त्यसलाई “रहस्यमय” बनाएर अफवाह फैलाउने कामको पनि कडा भर्त्सना गरिएको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीहरूले यस्ता भ्रामक अभिव्यक्तिलाई रोक्न सबै पक्षलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

यसअघि सामाजिक सञ्जाल र केही व्यक्तिहरूले गुम्बाहरूमा हतियार भण्डारण भएको दाबी गर्दै आएका थिए । अहिलेसम्म कुनै ठोस प्रमाण पेश भएको छैन ।

Published : Monday, 2025 November 24, 7:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया