कोभिड–१९ को स्वास्थ्य सामग्री खरिदमा घोटाला गर्ने हेटौँडाका ७ कर्मचारीहरूविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ को स्वास्थ्य सामग्री खरिदमा ३१ लाख रुपियाँ हिनामिना गरेको आरोपमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाले आर्थिक वर्ष ०७८/७९ मा स्वास्थ्य सामग्री खरिदमा हिनामिना गरेको भन्दै अख्तियारले स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक, कर्मचारी र आपूर्तिकर्तालाई प्रतिवादी कायम गरेको छ ।

ठेक्कामा न्यून कबोल गर्नेलाई छनोट गरेर खरिद गर्नुपर्नेमा मिलेमतो गरेर अधिक कबोल गर्नेसँग सम्झौता गरेर सरकारी सम्पत्ति हानिनोक्सानी गरेको अख्तियारको दाबी छ ।

स्वास्थ्य संस्थाहरूमा कोभिड– १९ विरुद्ध स्वास्थ्य सामग्रीका लागि दुई करोड रुपियाँ विनियोजन भएको थियो । बजेटबाट १३ वटा स्वास्थ्य सामग्री खरिदका लागि ब्लुमुन मेडिटेक फर्मा, ओम सर्जिकल कन्सर्न प्रा.लि., विकास सर्जिकल कन्सर्न प्रालि र डिस्पोभन सिरिन्ज एन्ड मेडिकल डिभाइसेसबाट दररेट लिएको थियो ।

ती दररेटका आधारमा स्वास्थ्य सामग्रीको लागत अनुमान भ्याटसहित एक करोड ९९ लाख ६४ हजार ३३० कायम गरिएको थियो । लागत अनुमान ४ माघ ०७८ मा स्वीकृत गरी राष्ट्रिय दैनिक पत्रिकामा ७ गते बोलपत्र आह्वानको सूचना प्रकाशन भएको थियो । १७ माघमा बोलपत्र खुल्दाको मुचुल्काअनुसार ठेक्काका लागि आठवटा बोलपत्र पेस भएको देखिएको छ । बोलपत्र मूल्यांकन समितिबाट ठेक्काको न्यून अंक कबोल गर्ने बोलपत्रदाताहरू केएस इन्टरनेसनल र डिस्पोभन सिरिन्ज एन्ड मेडिकल डिभाइसेसलाई बदनियत राखी जानी–बुझी अनुत्तीर्ण गराएको अख्तियारको दाबी छ ।

जनमुखी हेल्थ इन्टरप्राइजेजलाई दोहोरो मापदण्ड अपनाई बोलपत्र मूल्यांकन समिति, कार्यालय र निर्माण व्यवसायीबीच गैरकानूनी लाभ प्राप्तिका लागि मिलेमतो गरी सफल भएको आशयको सूचना प्रकाशित गरिएको थियो । त्यही जनमुखीसँग भ्याटसहित एक करोड २४ लाख ४४ हजार रुपियाँमा सम्झौता गरिएको थियो । तुलनात्मक रूपमा कम अंक कबोल गर्ने केएस इन्टरनेसनल, डिस्पोभान सिरिन्ट र सनराइज सर्जिकल हाउसले कबोल गरेको भ्याटसमेतको क्रमशः ९८ लाख ९१ हजार दुई सय, एक करोड १० लाख २७ हजार र एक लाख १२ हजार २१ हजार ६५७ रुपियाँलाई योग्यताको जाँच नगरी अयोग्य ठहर गरी चौथो कम अर्थात एक करोड २४ लाख ४४ हजार रुपियाँ कबोल गर्ने बोलपत्रदाता जनमुखीसँग सम्झौता गरिएको थियो । कम कबोल गर्नेलाई छाडेर बढी कबोल गर्नेसँग सम्झौता गरेर ३१ लाख १७ हजार ८९ रुपियाँ हानि पुर्‍याएको अख्तियारको दाबी छ ।

खरिद प्रक्रियामा संलग्न स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुनप्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, तत्कालीन रेफ्रिजिरेटर टेक्निसियन रविकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूसँग हानि भएको ३१ लाख बिगो मागदाबी गरिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज र त्यसका प्रोपाइटर नवराज श्रेष्ठ पनि मुद्दाका प्रतिवादी छन् ।

Published : Monday, 2025 November 24, 6:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया