कांग्रेस फुट्ने भयो भने म ब्याक हुन्छु, सभापतिजीको मनमा पाप छैन, एउटा व्यक्ति हटाउन विशेष महाधिवेशन हुँदैन : डा.शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाप्रति आफ्नो कुनै गुनासो र असन्तुष्टि नरहेको बताएका छन् ।
आइतबार बालुवाटारस्थित सम्पर्क कार्यालयमा भेट्न आएका संस्थापन निकट भनिएर चिनिएका २४ केन्द्रीय सदस्यहरूसँगको भेटमा नेता डा.कोइरालाले सभापति शेरबहादुर देउवा मनमा पाप नरहेको इमान्दार व्यक्ति रहेको बताए । डा.कोइरालाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘डा.शेखर कोइराला दाईले सभापति शेरबहादुर देउवासँग कुनै गुनासो र रिसराग नरहेको कुरा सुनाउनु भयो । सभापति शेरबहादुर देउवाजी इमान्दार हुनुहुन्छ । उहाँले कुनै कुरा मनमा राख्नु हुन्न । सभापतिजीको मनमा पाप छैन । मनमा लागेको कुरा भनिहाल्नु हुन्छ । सभापतिजीको बारेमा जान्दाजान्दै हाम्रा साथीहरूले कुरा लगाउने बानी खराब छ । सभापतिजीले पनि खराब के हो ? असल के हो छुट्टाउन सक्नु हुन्न । मनमा लागेको कुरा भनिहाल्नु हुन्छ ।’
नेता डा.कोइरालाको भनाइ उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘हाम्रा केही पदाधिकार र केन्द्रीय सदस्यहरूको व्यवहार खराब छ । सभापतिजीलाई लगेर विभिन्न कुरा सुनाइदिन्छन् । आन्तरिक बैठकमा गोप्य भनेर कुरा गरिन्छ । त्यो कुरा जस्ताको त्यस्तै लगेर सभापतिजीलाई सुनाइदिन्छन् । सभापतिजीले सुनेको कुरा भनिहाल्नु हुन्छ । फलानाले यस्तो कुरा भन्दै थियो भनेर सभापतिजीले सोध्नु हुन्छ । समस्या हामीभित्रै छ । सभापतिलाई म कुनै दोष दिन चाहन्न । सभापतिजी इमान्दार हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने उहाँमा भोलापन छ ।’
नेता डा.कोइरालाले नियमित महाधिवेशन र विशेष महाधिवेशनमा आफू प्रष्ट रहेको बताएका छन् । डा.कोइरालाले विशेष महाधिवेशन गर्ने हो भने सभापति देउवालाई मात्रै हटाउने गरेर विशेष महाधिवेशन हुन नसक्ने बताए । डा.कोइरालाको भनाइ उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘यही केन्द्रीय कार्यसमितिबाट निर्णय गरौँ । विशेष महाधिवेशन गर्ने हो भने सभापति शेरबहादुर देउवालाई मात्रै हउटाउने गरेर विशेष महाधिवेशन हुँदैन । सिङ्गो कार्यसमितिलाई हटाउने गरेर र नयाँ नेतृत्व ल्याउने गरेर विशेष महाधिवेशन हुन्छ । सभापति देउवाविरुद्ध मात्रै विशेष महाधिवेशन हुँदैन ।’
नेता डा.कोइरालाले कांग्रेस विभाजन हुन नदिन आफूले जे पनि त्याग गर्न तयार रहेको सन्देश २४ केन्द्रीय सदस्यहरूलाई सुनाएका छन् । डा.कोइरालाको भनाइ उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘सभापति देउवालाई मात्रै हटाउन भनेर गरिने विशेष महाधिवेशनका नाममा मेरो अहमति रहन्छ । नियमित महाधिवेशन गर्नुपर्छ । विशेष महाधिवेशन गर्ने हो भने अहिलेको सिङ्गो कार्यसमिति विरुद्ध हुनुपर्छ । पार्टी विभाजन हुने अवस्था आयो भने म पछाडि हट्छु । के के त्याग गर्नुपर्छ म त्याग गर्न तयार छु । कांग्रेस विभाजन हुन दिन्न ।’
संस्थापन निकट भनेर चिनिएका २४ केन्द्रीय सदस्यहरूले सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बुझाएको आफूहरूको सुझाव पत्र नेता डा.कोइरालालाई पनि बुझाएको बुझिएको छ ।
नेता डा.कोइरालाले पार्टीभित्रको आन्तरिक विषयलाई मिडियामा लगेर छताछुल्ल बनाउँदा कांग्रेस कमजोर अवस्थामा पुगेको गुनासो गरेका छन् । उनले सबै कुरा मिडियामा लैजान नहुने सुझाव नेताहरूलाई दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया