राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको टिकटमा कांग्रेस सभापति देउवाको हस्ताक्षर रहने

काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको टिकटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने गरेर निर्वाचन आयोगमा दल दर्ता भएको छ ।

आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ताका लागि निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पुगेर दल दर्ता गराएका हुन् । पौडेलले कांग्रेससम्बन्धी आवश्यक कागजपत्र बुझाएका छन् ।

राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको टिकटमा सभापति देउवाको हस्ताक्षर चल्नेछ ।

सभापति देउवालाई भदौ २४ गते हत्या गर्ने उद्देश्यले बुढानिलकण्ठस्थित निवासमा सांघातिक आक्रमण भएको थियो । उनकी पत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणाको पनि हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । गम्भीर घाइते देउवा दम्पत्ति केही दिन अगाडि सिङ्गापुरमा उपचार गरेर स्वदेश फर्किसकेका छन् ।

पार्टी कार्यालय, सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । विधान, पद्धति, कानूनअनुसार नै सभापति देउवाको नाम राखेर निवेदन दिने निर्णय कांग्रेसले गरेको थियो ।

चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा टिकटमा हुने आधिकारिक हस्ताक्षरको नमूना आयोगमा पेस गर्नुपर्छ । कांग्रेसले टिकटमा हस्ताक्षरका लागि सभापति देउवाको नाम बुझाएको छ ।

माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आइतबार अन्तिम दिन हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ ।

Published : Sunday, 2025 November 23, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया