औपचारिक रुपमा बल्ल कांग्रेसले दियो सभापति देउवा र नेतृ डा.राणालाई न्याय

काठमाडौं । नेपाली कांग्रेसले भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा प्रवेश गरेर हत्या गर्ने उदेश्यले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।

शनिबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिमा सभापति देउवा र केन्द्रीय सदस्य डा.राणाको स्वास्थ्य लाभको कामना गरेको हो ।

पहिलो पटक औपचारिक रुपमा कांग्रेसले केन्द्रीय कार्यसमितिबाट निर्णय गरेर सभापति देउवा र केन्द्रीय सदस्य डा.राणामाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै स्वास्थ्य लाभको कामना गरेको छ ।

सभापति देउवा र नेतृ डा.राणाको हत्या हुने गरेर सांघातिक आक्रमण हुँदा समेत घटनाको न्दिा र भर्त्सना समेत गरेका थिएनन् । थापा र शर्माले स्वास्थ्य लाभको कामना पनि गरेका थिएनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मानवीय समवेदना समेत प्रकट गर्न सकेका थिएनन् । कांग्रेसको केन्द्रीय कार्यसमितिले बल्ल देउवा र डा.राणालाई न्याय दिएको छ । महामन्त्रीद्वय थापा र शर्माको मानवीय समवेदनाहीनताको केन्द्रीय सदस्य र पदाधिकारीहरूले बैठकमा खुलेर आलोचना गरेका थिए ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘असोज २८ गते पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्नु भएको सारगर्भित लिखित मन्तव्यलाई यस बैठकले स्वागत र अनुमोदन गर्दै उहाँ र उहाँको धर्मपत्नी पार्टी केन्द्रीय डा.आरजु राणा देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।’

‘भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण अकल्पनीय जनधनको क्षति भयो । प्रदर्शनकारी तथा राष्ट्रसेवक सुरक्षाकर्मी सहित सोही दिनमै ५७ जनाको ज्यान गयो र सयौँ नागरिक घाइते भए । सो दिनको हिंसात्मक र आपराधिक गतिविधिका कारण देशमा राज्यविहीन अराजकताको स्थिति सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ ।

‘राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न अदालत, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, प्रहरी कार्यालय, ऐतिहासिक तथा प्रशासनिक संरचनाहरू, विराटनगरको कोइराला निवास, काठमाडौं चाक्सीवारी स्थित गणेशमान सिंह निवास, ललितपुर बाँडेगाँउस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, ४८ जिल्लाका विभिन्न तहका पार्टी कार्यालयहरू, नेपाली कांग्रेसका सभापति तथा उहाँकी धर्मपत्नी, पार्टी केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण, उहाँको निवासमा भएको तोडफोड, लुटपाट र आगजनी, साथै केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका गरी १२५ भन्दा बढी नेताका निजी निवासहरू तथा अन्य विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निजी घर–डेरा, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान एवं निजी सम्पत्तिमा भएका आक्रमण, तोडफोड, लुटपाट र आगजनीका सबै घटना अराजनीतिक, आपराधिक र पूर्ण रूपमा विध्वंसकारी थिए । नेपाली कांग्रेस यस घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ ।’

Published : Saturday, 2025 November 22, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया