राप्ती गाउँपालिकाका अध्यक्ष विष्टको क्लिनिकमा सरकारी चिकित्सक, नदीमा अबैध उत्खनन् र दोहन
मसुरिया । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरकारी स्वास्थ्य संस्थाका चिकित्सक, नर्स, प्यारामेडिक लगायतलाई आफ्नो निजी क्लिनिकमा लगेर काम गराएको खुलासा भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका औषधि र जाँचको सिफारिस पर्चाले गाउँपालिकाका अध्यक्ष विष्टले सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मचारीहरूलाई आफ्नो क्लिनिकमा काममा लगाएको खुलेको हो । उनले सरकारी स्वास्थ्य संस्थाका एकजना फिजिसियन चिकित्सकलाई आफ्नो क्लिनिकमा लगेर काममा लगाएको पर्चाको तथ्यले देखाएको छ । सरकारी स्वास्थ्य संस्थाको चिकित्सकलाई आफ्नो निजी क्लिनिकमा लगेर काम गराएको विषयमा अध्यक्ष विष्ट र राप्ती गाउँपालिकाले केही प्रतिक्रिया दिएको छैन ।
गाउँपालिकाका अध्यक्ष विष्टले सरकारी स्वास्थ्य संस्थाका चिकित्सक र अन्य कर्मचारीहरूले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाइने र काम गरेको पाइएमा कारबाही गर्ने भनेका थिए । आफैले बनाएको विधि, प्रक्रिया र निर्णयलाई अध्यक्ष विष्टले उल्लंघन गरेर सरकारी स्वास्थ्य संस्थाको चिकित्सक र कर्मचारीहरूलाई आफैले सञ्चालन गरेको क्लिनिकमा लगेर काममा लगाएको खुलेपछि आलोचना भइरहेको छ ।
गाउँपालिकाका अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको वडा नं. ८ सिसहनियामा विष्ट हेल्थ पोलिक्लिनिक प्रा.लि. सञ्चालन गर्दै आएका छन् । विष्ट स्वास्थ्यकर्मी भए पनि राजनीतिको दम्भ र शक्तिको आडमा आफैले बनाएको विधि, प्रक्रियालाई उल्लंघन गरेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।
तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा विष्ट निर्वाचित भएका थिए । सस्तो लोकप्रियताका लागि बेलाबेला विष्टले स्वास्थ्यकर्मीको भेषमा गाउँका जनताको स्वास्थ्य चेकजाँच गरेको नौटंकी गर्दै आएको आरोप छ । सामाजिक सञ्जालमा अध्यक्ष विष्टलाई कारबाहीको माग पनि उठेको छ ।
यसैबीच, राप्ती नदीमा अबैध उत्खनन् र दोहन गरेको भनेर पनि अध्यक्ष विष्टको आलोचना भइरहेको छ । अबैध उत्खनन् गर्ने माफियाहरूसँग मिलेर राप्ती नदीमा अबैध उत्खनन् गरेको भनेर यसअघि पनि आरोप लाग्नुका साथै सामाजिक सञ्जालमा विभिन्न जनप्रतिनिधि, बिचौलिया, दलाल, प्रहरी, प्रशासनको नामसहितको सूची सार्वजनिक भइसकेका छन् ।
माओवादी नेता समेत रहेका अध्यक्ष विष्टविरुद्ध एबीसी सञ्चारले जारी गरेको भिडियोमा राप्ती नदीमा भएको अबैध उत्खनन् र दोहनका विषयमा सामग्री राखेको छ ।
राप्ती गाउँपालिका वडा नं. १ एक बगाहसोतीमा ढुङ्गा, गिट्टी र मिस्कटमा अबैध तरिकाले उत्खनन् गरेर डम्पिङ गरिएको भिडियोमा भनिएको छ । करीव ५० टिप्पर ढुङ्गा, मिस्कट, गिट्टी अबैध उत्खनन् गरेर डम्पिङ गरेर राखिएको आरोप छ । कर छली गरेर राप्ती गाउँपालिकाको वडा नं. ३ खुरुरिया–बसन्तापुर घाटमा गिट्टी, ढुङ्गा, बालुवा डम्पिङ गरेर अबैध रुपमा उत्खनन् गरी राखिएको आरोप छ ।
स्थानीय प्रशासन र राज्यका निकायलाई कर नतिरेर, कर छली गरी राप्ती नदीमा अबैध उत्खनन् गरिएको स्थानीयलाई उदृत गर्दै स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।
राप्ती गाउँपालिकाको वडा नं. ५ सिसहनियामा पनि राप्ती नदीमा अबैध रुपमा उत्खनन् गरेर राखिएको आरोप छ । राज्यका कुनै पनि निकायलाई कर नतिरेको आरोप लगाइएको छ ।
राप्ती नदीको सिसहनिया घाटमा पनि १५० टिप्पर ढुङ्गा र १ सय टिप्पर मिस्कट राखिएको स्थानीयको आरोप छ । ढुङ्गा र मिस्कटको एक रुपियाँ पनि कर राज्यलाई नतिरेको आरोप छ ।
आरोपहरूका बारेमा राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट र राप्ती गाउँपालिका प्रशासनले केही प्रतिक्रिया दिएको छैन । राप्ती गाउँपालिकाका अध्यक्ष र प्रशासनमाथि गम्भीर आरोपहरू लाग्दा समेत प्रतिक्रिया वा विज्ञप्ति समेत जारी नगरेर चुपचाप छन् ।
राप्ती गाउँपालिकाका केही कर्मचारीहरू र केही जनप्रतिनिधिहरूका कारण पालिका बदनाम भइरहेको छ । केही पुराना कर्मचारीहरू निकै घुस्याहा र भ्रष्ट रहेको भन्दै सेवाग्राहीहरू चिन्तित छन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया