सभापति देउवालाई बाइपास गरेर अगाडि बढ्न सकिदैन, विशेष महाविधेशनले दुर्घटना हुन्छ : मुख्यमन्त्री शाह

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र मौलाएको अस्वस्थ नेतृत्व होडबाजी र किचलोले पार्टीलाई दुर्घटनातर्फ धकेलिरहेको बताएका छन् ।

बझाङ र बाजुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै कांग्रेसका नेता समेत रहेका मुख्यमन्त्री शाहले सभापति शेरबहादुर देउवालाई किनारा लगाएर नेतृत्व हत्याउने महत्वाकांक्षा नराख्न चेतावनी दिएका छन् । शाहले सभापति देउवालाई निचोरेर वा बाहिर राखेर नेतृत्व लिन्छु भन्ने सोँच्नु केवल भ्रम मात्र हुने बताए ।

‘नेतृत्व कसले र कसरी लिने भन्ने विषयमा अनावश्यक होडबाजी नगरौँ, हामी अहिले गलत बाटोमा हिँडिरहेका छौँ,’ कांग्रेस नेता समेत रहेका मुख्यमन्त्री शाहले भने, ‘विचार र स्पष्ट दृष्टिकोणका लागि महासमिति बैठक अपरिहार्य छ । नेतृत्वलाई बाइपास गरेर अघि बढ्न सकिँदैन ।’

शाहले पार्टीभित्रको वैचारिक तथा सैद्धान्तिक बहसलाई संस्थागत गर्न महासमिति बैठक नै सर्वोत्तम माध्यम भएको बताएका छन् ।

सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणपछि पार्टी एकढिक्का हुनुपर्नेमा उल्टै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाउनु विभाजनकारी कदम भएको बताएका छन् ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको कार्यकालमा पनि आवश्यकताअनुसार विधान संशोधन गरेर कार्यकाल थपिएको मुख्यमन्त्री शाहले बताएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको नाममा हतार गरेर पार्टीलाई गलत बाटोमा लैजाने प्रयास गरेको बताएका छन् ।

Published : Saturday, 2025 November 22, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया