देउवाको मन छुने कुरा सुनेपछि केन्द्रीय सदस्यहरूद्वारा खड्का र गगन–विश्वसँग भेट
काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरूले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने र राष्ट्रिय राजनीतिमा बोल्ड निर्णय गरेर जान सुझाव दिएका छन् ।
शुक्रबार काठमाडौंमा संस्थापन निकटका २४ केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई अलग अलग भेट गरेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेर निर्णय गर्नुपर्ने सुझाव दिएका हुन् । उनीहरूले कांग्रेस संकटमा रहेको र कांग्रेसले राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर लैजाने गरी उपयुक्त निर्णय गर्न सुझाव दिएका छन् ।
सभापति देउवाले आफूले कार्यबाहक सभापतिको जिम्मेवारी दिइसकेको हुँदा कार्यबाहक सभापति र दुई महामन्त्रीसँग भेट गरेर उपयुक्त निर्णय गराउन सुझाव दिएका छन् । देउवाले क्रियाशील सदस्यता विवादको समाधान खोज्न र त्यसपछि महाधिवेशनको लागि निर्णय गर्न पनि सुझाव दिएका छन् ।
सभापति देउवाले नेताहरूलाई मिलेर जाउन् भन्ने सदभाव राखेका छन् । देउवाले पार्टी विवादमा अल्झिएको विषयमा चिन्ता देखाएको नेताहरूले बताएका छन ।
सभापति देउवाको सुझाव र सल्लाहपछि २४ केन्द्रीय सदस्यहरूले कार्यबाहक सभापति खड्कालाई भेट गरेका छन् । खड्काले आफू सहमतिको प्रयासमा रहेको र सबै नेताहरूसँग निरन्तर सम्वादमा रहेको बताएका छन् ।
दुई महामन्त्री थापा र शर्माले भने २४ केन्द्रीय सदस्यहरूसँग आँखा जुधाएर कुरा गर्न सकेका छैन । थापा र शर्माले विशेष महाधिवेशनकै कुरालाई उठाउने प्रयास गरेका थिए । यद्यपि, २४ केन्द्रीय सदस्यहरूले मुलुक संकटमा रहेको र कांग्रेसले नै राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर लैजानुपर्ने सुझाव महामन्त्रीद्वय थापा र शर्मालाई दिएका छन् ।
संकटपूर्ण अवस्थाका बेलामा कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गराउनै नदिने गरी गतिविधि नगर्न २४ केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय थापा र शर्मालाई आग्रह गरेका छन् । केन्द्रीय सदस्यहरूले थापा र शर्मालाई अहिलेको अवस्थामा व्यक्तिगत स्वार्थभन्दा पनि देश र कांग्रेसका लागि एकताबद्ध भएर फागुन २१ गतेको मध्यावधि निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तिम सरकारले मध्यावधि निर्वाचन घोषणा गरिकेको र निर्वाचनको कार्यतालिका आइसकेको अवस्थामा कांग्रेसका नेताहरू मिल्नुको बिकल्प नरहेको केन्द्रीय सदस्यहरूले बताएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा पनि कांग्रेसले एकताबद्ध बनेर निर्वाचनमा भाग लिनुपर्ने केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय थापा र शर्मालाई दवाव दिएका छन् ।
सभापति देउवा, कार्यबाहक सभापति खड्का तथा दुई महामन्त्री थापा र शर्मालाई भेट्न उदयशम्शेर राणा लगायतका २४ केन्द्रीय सदस्यहरू गएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया