निर्वाचनपछि वैशाखामा महाधिवेशन, हस्ताक्षर गर्नेलाई काठमाडौं बोलाएर सनाखत गराउनुपर्छ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निधिले अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको बताए । उनले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताए ।

‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ । १५औं महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौँ,’ निधिले भने, ‘त्यसैको तयारीमा हामी सबै लागौं ।’

चुनाव र पार्टी महाधिवेशनबारे महिला संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चुनावको तयारी गर्नुपर्ने बेलामा पार्टी महाधिवेशनमा अलमलिन नहुने नेता निधिले बताएका छन् ।

उनले भने, ‘अहिले महाधिवेशनमा केन्द्रित हुने कि चुनाव रोज्ने भन्ने कुरा छ । अहिले विवाद भइरहेको छ चुनाव अघि कि पछि गर्ने भन्नेमा नै । शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिइसक्नुभएको छ, उहाँले १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्न भनिसक्नुभएको छ । हुन्छु भनेपनि पाउनुहुन्न ।’

उनले एमाले र माओवादीमा नेतृत्व परिवर्तन असहज भएपनि कांग्रेसमा अफ्ठेरो नभएको बताएका छन् । निधिले अहिले पार्टीको नीति चुनाव बाहेक अरू केही हुन नसक्ने बताएका छन् ।

‘उहाँहरू विशेष महाधिवेशनको कुरा गर्नुहुन्छ, सभापतिले एक वर्ष समय थप गरेर १५औँ महाधिवेशन गरौँ भनिसक्नुभएको छ, हामीले वैशाखमै गरौँ बरु भनेका छौँ,’ उनले भने ।

नेता निधिले कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सहमति जुटाउँदै छु भनेपनि नसकेर आजको बैठक स्थगित भएको बताए ।

निधिले भने, ‘सहमहामन्त्री महेन्द्र यादवले हामी सबैको सहमतिमा प्रस्ताव राख्नुभएको हो । उहाँ एक्लैको होइन ।’

सहमहामन्त्री महेन्द्र यादवको प्रस्तावमा आफूसहित प्रकाशमान सिंह, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, डा.शशांक कोइराला, एनपी साउद, विजय गच्छादारसहित केन्द्रीय सदस्यहरूको पनि साथ रहेको बताए ।

नेता निधिले भने, ‘उहाँहरू ५४ प्रतिशतको कुरा गर्नुहुन्छ, त्यसको रुजु गर्न कति दिन लाग्छ? उहाँहरूले भन्दैमा ५४ प्रतिशत छ भन्ने हुँदैन रुजु गर्नुपर्छ । सबैलाई काठमाडौंमा बोलाएर सनाखत गराउनुपर्छ, त्यसो गर्दा कति दिन लाग्छ ।’

Published : Thursday, 2025 November 20, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया