म्यानमारमा छापामारेपछि थाईल्याण्ड भागेका ३७ नेपालीहरूको उद्धार

काठमाडौं । म्यानमारका सुरक्षाकर्मीले छापा परेपछि भागी थाईल्याण्ड प्रवेश गरेका ३७ जना नेपाली नागरिकहरूलाई नेपाल पठाइएको छ ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको समन्वय र सहयोगमा उद्धार गरी बुधबार काठमाडौं ल्याइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ३७ जना नेपालीहरूलाई नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल ल्याइएको छ ।

म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाईल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन थाईल्याण्डस्थित राजदूतावासले अनुरोध गरेको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगेर अवैधरूपमा सच्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाईन डेटिड, अनलाईन क्यासिनो, गेमिड तथा फिसिड, क्रिप्टो ठगी लगायतका काममा लगाइएका र १९ अक्टोबर २०२५ मा स्क्यामिङ्ग केन्द्रमा म्यानमारमा स्थानीय सुरक्षाकर्मीले छापामारेपछि नेपालीहरू भागेर थाईल्याण्ड पुगेका थिए ।

Published : Thursday, 2025 November 20, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया