अवहेलना निवेदनले प्रधानमन्त्री कार्कीलाई तनाब

काठमाडौं । सर्वोच्च अदालतमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ ।

राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै सोमबार अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् ।

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको छ । हाल राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर भइरहेका छन् ।

अधिवक्ता सिलवालका अनुसार अदालतको अवहेलना निवेदन दर्ता भएको छ । निवेदनको पहिलो पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।

निवेदनमा प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ । सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन हो ।

यसअघि सर्वोच्चले राजदूत फिर्ताको विषयमा आफ्नै आदेश पालना नगरेको उपर पेस भएका अवहेलनाका मुद्दा दर्ता गर्न अस्वीकार गरी दरपीठ गरेको थियो ।

कात्तिक १८ गते अधिवक्ता अनन्तराज लुइँटेल समेतले दायर गरेको निवेदन दरपीठ गरेको थियो ।

Published : Monday, 2025 November 17, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया